गाजा, असोज २१ गते । प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजामा १० लाख बालबालिका रहेको पुष्टि गर्दै गाजाको कुनै पनि ठाउँ उनीहरुका लागि सुरक्षित नभएको जनाएको छ ।
इजरायली सेनाले अन्तर्राष्ट्रिय कानुन र बालअधिकारको परवाह नगरी गाजामा सुतिरहेको समयमा बालबालिकालाई अन्यायपूर्वक हत्या गरेको युएनआरडब्लुएले उल्लेख गरेको छ । युएनआरडब्लुएले सामाजिक सञ्जाल एक्समा गाजामा मनोवैज्ञानिक आघात भोगिरहेका पाँच लाखभन्दा बढी बच्चालाई मनोवैज्ञानिक सहजीकरण गरेको जनाउँदै गाजाका बच्चाले कुनै पनि बच्चाले अनुभव गर्न नसक्ने समस्याको सामना गर्न बाध्य भएको जनाएको छ ।
इजरायली सेनाले गाजामा बच्चा सुतिरहेको, स्कुलमा आश्रय लिइरहेको, पानीको लागि लाइनमा उभिएको वा चिकित्सा सहायता खोजिरहेको समयमा उनीहरुलाई मारिएकोमा दुखः व्यक्त गरेको छ । यस अघि, युनिसेफका प्रवक्ता जेम्स एल्डरले गाजामा अझै पनि दशौँ हजार बालबालिका रहेको पुष्टि गर्दै बम विस्फाेटका कारण अङ्गभङ्ग हुनेमा पनि कैयौँ बालबालिका रहेको बताउनुभएको छ ।
निरन्तरको आक्रमणले बालबालिका थरथर काँपिरहेका उल्लेख गर्दै उहाँले “बालबालिकामाथि गरिएको क्रूरता गैर मानवीय भएको बताउनुभएको छ । गाजाको अल-मवासी क्षेत्र विश्वको सबैभन्दा घना जनसङ्ख्या भएको क्षेत्र हो । यो क्षेत्रका मानिसहरु जीवनका आधारभूत आवश्यकताबाट वञ्चित छन् जसले बालबालिकालगायत परिवारको पीडा बढाउँछ । रासस/क्यूएनए