• १९ असोज २०८२, आइतबार

दल र प्रशासन सुध्रने अवसर

blog

हामीले सोच्यौँ– राणा फालेपछि नेपालीका सुख समृद्धिका दिन आउँछन् । राणा फालेको १० वर्षमा शाहहरूको एकछत्र शासनबाट नेपाली पीडित हुनुप¥यो । तीन दशकको दमनविरुद्धको सङ्घर्षपछि पुनः जनताको हातमा शासन आयो । त्यो शासन व्यवस्था पनि शाहहरूलाई सह्य भएन, पुनः जनताको मुख २०५८ सालमा थुनिदिए । पटक पटकको शाह राजाहरूको तानाशाहीबाट पीडित नेपालीले पुनः सङ्घर्ष गरी राजतन्त्रै फ्याँकिदिए । अब देशमा अग्रगामी गति र आर्थिक समृद्धि आउला भन्ने जनताको आशामा बसेका नेपालीको टाउकामा तीन राजनीतिक दलका शीर्ष नेताले सत्ताको मात्र आलोपालो गरी चिसो पानी खन्याइदिए । 

तिनै तीन नेताको आलोपालोको विरोधको जगमा फेरि ०८२ भदौ २३ र २४ मा जनविद्रोह भयो । आगामी फागुन २१ गते निर्वाचन गरी जनप्रतिनिधिको हातमा सत्ता हस्तान्तरण गर्ने राष्ट्रपतिको आदेश र प्रधानमन्त्रीको वचनबद्धता छ । केही मानिस निर्वाचन हुनेमा शङ्का गर्छन् । शङ्का वास्तविकतामा परिणत भयो भने नेपाल अस्थिरता र अराजकताको अर्को दुष्चक्रमा पर्ने निश्चित छ । 

नेपालको इतिहासमा राणाकालीन समयदेखि ०६२/६३ का आन्दोलन वा क्रान्ति कुनै न कुनै राजनीतिक पार्टीको अगुवाइमा भएका थिए । ०८२ भदौ २३ गतेको जेनजी (जेनजेड) को आह्वानमा गरिएको प्रदर्शन वा आन्दोलनमा कुनै पार्टीको औपचारिक संलग्नता थिएन । यो स्वस्फूर्त युवाको प्रदर्शनको आह्वान थियो । सुरुमा मिराज ढुङ्गाना नाम गरेका व्यक्तिको आह्वानमा भएको शान्तिपूर्ण प्रदर्शन अपराह्नबाट हाइज्याक भई उच्छृङ्खल हिंस्रक समूहको प्रभावमा परिसकेको थियो । भदौ २३ गते भिडलाई उत्तेजित बनाई हिंस्रक बनाउने अवाञ्छित तत्वको उक्साहटमा निर्दोष १९ जना युवाको जीवन समाप्त भयो । भदौ २४ गते स्थिति कसैको नियन्त्रणमा थिएन । प्रहरीको मनोबल गिरेको थियो । विध्वंस गर्ने भिड विक्षिप्त जस्तो तर योजनाबद्ध थियो । राष्ट्रका ऐतिहासिक सम्पदा तथा अभिलेख जलिरहेका थिए । लक्षित नेताका निजी आवास नष्ट गरिँदै थियो । देशमा रोजगारी सिर्जना गरेका र सीमित भए पनि राष्ट्रिय उत्पादन वृद्धि गर्ने उद्यमीका उद्योग र निजी आवासमा आगजनी, लुटपाट र तोडफोड भइरहेको थियो । राष्ट्रपतिनिवास पनि सुरक्षित हुन सकेन । भदौ २४ गते राति १० बजेपछि स्थिति नियन्त्रण गर्न सेना परिचालन गरिएको प्रधान सेनापतिले राष्ट्रलाई जानकारी गराउनुभयो । हाम्रो जीवनमा भएका र हुने हरेक घटना वा हामीले गर्ने कामका सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन् । कालो बादलमा चाँदीको घेरा देखिन्छ । पूर्ण चन्द्रमामा ग्रहण पनि लाग्छ । सकारात्मक काम जुन सम्पन्न गर्दा केही अनपेक्षित वा केही असावधानीवश गल्ती हुन गएको रहेछ भने पनि त्यो क्षम्य हुन्छ र त्यसलाई सकारात्मक मानिन्छ । सकारात्मक उद्देश्यको प्रचारित लक्ष्य लिएर गरेको काम प्रयोग गर्दा धेरै खराब कर्म भए भने त्यस्ता काम नकारात्मक मानिन्छन् । 

विसं ००७, ०४६ र ०६२/६३ सालका आन्दोलन वा क्रान्तिमा पनि केही अनपेक्षित कमजोरी रहेकै हुन् । ती क्रान्ति वा आन्दोलनबाट जनचाहना अनुसारको शासन परिवर्तन भएकाले ती समयलाई ऐतिहासिक दिनका रूपमा सबै नेपालीले स्मरण गर्छौं । माओवादी सशस्त्र द्वन्द्वको सुरुवाती घोषित लक्ष्य, सैद्धान्तिक रूपमा भिन्नमत रहेका मानिसको दृष्टिमा पनि, युद्ध सुरु हुनुअघि पेस गरिएका ४० बुँदे माग राम्रा थिए । कार्यक्षेत्रमा जाँदा हिंसा, लुटपाट, व्यक्ति हत्या, जबरजस्ती असुली, सरकारी संरचना ध्वस्त बनाउने कार्यले प्राथमिकता पायो । अन्तिममा माओवादीले एक्लै केही गर्न नसकी सात दलको सहयोगबाट राजतन्त्र अन्त्य भयो । 

माओवादी जुन व्यवस्थाको अन्त्य गर्न हिंसा गरेको थियो, सोही संसदीय व्यवस्था स्वीकार गरी हालसम्म पनि त्यसको अभ्यास गरेकाले त्यस काललाई बिर्सनयोग्य मानिन्छ । त्यो स्तरको जनधन क्षति भएको काललाई माओवादीबाहेक अरू कसैले स्मरण गर्दैनन् । माओवादी द्वन्द्वबाट प्राप्त उपलब्धि कालो बादलमा चाँदीको घेरा हो । ००७, ०४६ र ०६२/६३ सालको आन्दोलनमा भएको कमजोरी शरदचन्द्रमा ग्रहण लाग्नु जस्तै हो । भदौ २३–२४ को जेनजेड प्रदर्शनलाई शरदचन्द्रमा कालो ग्रहण भन्ने कि कालो बादलमा चाँदीको घेरा, यसलाई छुट्याउन निम्न तथ्य र घटनाको विवेचना गर्नु पर्छ । 

१. तत्कालीन प्रधानमन्त्री तथा गृहमन्त्रीको प्रदर्शनकै प्रारम्भमा कसरी नियन्त्रण गर्ने भन्ने त्रुटिपूर्ण तथा अदूरदर्शी सोचाइ र पछि अत्यधिक बल प्रयोग गर्ने कार्य अप्रजातान्त्रिक र अहङ्कारी मनोवृत्तिग्रस्त थियो भन्ने उनीहरूको राजीनामाले नै पुष्टि गरेको छ । प्रदर्शनकारीको तुलनामा अत्यधिक न्यून मात्रामा खटिएको प्रहरीको सुरक्षा हेतु गोली चलाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना गर्नुमा प्रधानमन्त्री, गृहमन्त्री र प्रहरीको उच्च नेतृत्व जिम्मेवार छ । के त्यो मात्र कारण मान्न सकिन्छ ? शान्तिपूर्ण प्रदर्शनको आह्वान गरेको जेनजीहरूको प्रदर्शनमा घुसपैठिया सङ्गठित तथा आपराधिक गिरोहले साना कलिला विद्यार्थीलाई धकेल्दै संसद् भवन र प्रहरीमाथि जाइलाग्न उक्साउनुलाई अनदेखा गर्न मिल्छ ? घुसपैठ गर्नेको निहित उद्देश्यै हिंसा भड्काउनु रहेकाले प्रहरीलाई मात्र एकल दोषी आरोपित गर्नु जायज हँुदैन । 

२. भदौ २३ गते हिंसा भड्काएपछि २४ गते अत्यधिक ठुलो सङ्ख्यामा अनियन्त्रित भिड जम्मा भई देशभरका सरकारी कार्यालय, ऐतिहासिक सम्पदा तथा अभिलेख जलाइएका छन् । प्रहरीका हतियार लुटिएका छन् । राजनीतिक पार्टी विशेष गरी नेपाली कांग्रेस र नेकपा एमालेका पार्टी कार्यालय, तिनमा रहेका पुस्तकालय र त्यहाँ रहेका अभिलेख जलाइएका छन् । यी सबै काम सुनियोजित रूपमा भएको देखिन्छ । 

३. देशका अमूल्य निधि जलाइएका, नष्ट गरिएको स्वयम् प्रधानमन्त्री सुशीला कार्कीले महसुस गरी यी सबैको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा छानबिन आयोग गठन गर्नुभएको छ । उक्त आयोगले निष्पक्षतापूर्वक छानबिन गरी आफ्नो प्रतिवेदन प्रस्तुत गर्दा सबै कुरा स्पष्ट होला । यसबाट जेनजीहरूबाट प्रदर्शन अपहरण भई आपराधिक सङ्गठित गिरोहको नेतृत्वमा विध्वंस मच्चिएको जेनजीकै माग अनुसार प्रधानमन्त्रीले स्वीकार्नु नै यो हिंसामा जेनजीको भन्दा सङ्गठित आपराधिक गिरोहको हात प्रमुख रहेको र त्यो गिरोहै राष्ट्रिय सम्पत्ति जलाउन सक्रिय रहेको स्पष्ट हुन्छ । 

४. भदौ २३ गते रातिदेखि २४ गते दिनभर व्यक्तिगत सम्पत्ति लुटपाट, आगजनीको अलावा देशका उद्यमी तथा व्यावसायिक प्रतिष्ठानहरूमा लुटपाट र आगजनी गरिएको छ । देशका उद्यमीलाई हतोत्साहित गर्नु, राष्ट्रिय उत्पादन, लगानी तथा रोजगार प्रवर्धन निषेध गर्नु हो । यो काम सच्चा नेपालीले गर्न सक्दैनन् । यो विध्वंस मच्चाउने शरीर र हात त नेपाली थिए होलान् तर उसको मन नेपाली अवश्य थिएन । नेपालबाहिरको शक्तिबाट परिचालित हातले नेपालीको राष्ट्रिय सम्पत्ति मात्र नभई राष्ट्रिय पहिचानमा पनि गम्भीर क्षति पु¥याएको छ । 

५. जेनजी प्रदर्शनले शासनतन्त्रका केही असफलतालाई उजागर ग¥यो । ०४८ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हँुदा ल्याउनुभएको डा. रामशरण महतको निजी क्षेत्रलाई आकर्षित गर्ने, देशमा रोजगारी सिर्जना गर्ने, उत्पादन तथा राष्ट्रको राजस्व वृद्धि गर्ने उदार आर्थिक नीतिका कारण देशमा विकासक्रम बढेको थियो । त्यसपछि बनेको एमाले सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले राजस्वमा वृद्धि नगरी वितरण मात्र गर्ने वितरणमुखी अर्थतन्त्रमा जोड दिनुभयो । भोट बढाउन गरिएको केही सीमित समूह मात्र लाभान्वित हुने अर्थनीतिले रोजगारी सिर्जना गर्न सकेन र बेरोजगारी बढायो । यसबाट भ्रष्टाचार र कुशासन पनि बढ्यो । यिनै बेरोजगार तथा भविष्यमा रोजगारी प्राप्त गर्न कठिन अवस्था बुझेका जेनजीहरूले सुशासन र भ्रष्टाचार अन्त्यको माग राखी प्रदर्शन गरे । जसकारण खोक्रो बनिसकेको हाम्रो अर्थतन्त्र र हावादारी शासनतन्त्र टिक्न सकेन । यसबाट हाम्रो देशको अर्थनीति गलत रहेछ भन्ने शिक्षा अहिलेको प्रदर्शनले दिएको छ ।

६. केपी ओलीको राष्ट्रियतामा शङ्का गर्न मिल्दैन । हुन त सबै नेपाली नै राष्ट्रवादी हुन्छन्, छन् । सत्तामा पुगेपछि सत्ता स्वार्थका लागि विदेशीको मुख ताक्ने ००७ सालपछिका दोस्रो पुस्ताका नेता धेरै छन् । यी नेतामध्ये विदेशी हस्तक्षेप नसहने नेतामा सुशील कोइराला र केपी ओली अग्रपङ्क्तिमा आउनुहुन्छ । ओली यही राष्ट्रवादीधारको आधारमै लोकप्रिय हुनुभएको हो । अहिलेको आन्दोलनले केवल राष्ट्रवादी अडान र यसको लोकप्रियतावादी प्रयोगले मात्र जनता सन्तुष्ट हुँदारहेनछन् भन्ने देखाइदिएको छ । आर्थिक प्रगतिबिनाको राष्ट्रवादी नारा खोक्राे हुन्छ भन्ने यो आन्दोलनले प्रमाणित गरेको छ । 

७. नेपालमा अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवाद भन्ने नारा कम्युनिस्टका जनाधारको मुख्य आधार हो । कम्युनिस्ट अमेरिकाको किन विरोध गर्छन्, नेपालको अमेरिकाबाट के अहित हुने काम भयो, केही देखिँदैन । सायद चीन र रुसले विरोध गर्ने भएर होला उनीहरूले पनि विरोध गरेको । भारतको बुझाइ नेपालका राजनीतिक पार्टीहरूले नेपाली जनतालाई भारतविरोधी बनाएका छन् भन्ने छ । केही अंशसम्म यो सत्य पनि हो । भारतले प्रधानमन्त्रीलाई भ्रमणको निम्तो नदिएको सन्दर्भमा केपी ओली चीन गएकै अवसरमा चिनियाँं राष्ट्रपतिले नेपालले पनि चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जियसआई) मा समर्थन ग¥यो भन्नु नेपालको असन्तुलित परराष्ट्र नीतिको द्योतक हो । 

हाम्रो जस्तो भूपरिवेष्ठित तथा छिमेकीको तुलनामा आर्थिक सामथ्र्यको दृष्टिकोणबाट धेरै कमजोर रहेको देशले सन्तुलित विदेश नीति अङ्गीकार गर्नुपथ्र्याे । अहिलेको सत्तापलटले असन्तुलित विदेश नीतिबाट देशको हित रक्षा हुन सक्दैन भन्ने पनि देखाएको छ । 

८. हाम्रा तीन ठुला पार्टीका नेता आपसमा म्युजिकल चियरमा रमाइरहेका थिए । देशमा के र कस्तो काम गर्ने भन्दा पनि कुन पार्टीको सभापति वा अध्यक्ष प्रधानमन्त्री बन्ने नै उनीहरूबिच गठबन्धनको आधार थियो । यो आन्दोलनको परिणामले उनीहरूको आलोपालो प्रधानमन्त्रीको गठबन्धन गर्ने आधारलाई धेरै कमजोर बनाएको छ, जुन सकारात्मक छ । 

९. यथास्थिति कुशासन र प्रशासनिक अकर्मन्यताका मुख्य कारणमध्ये प्रशासनका उच्चपदस्थलाई पनि यो आन्दोलनले झकझकाएको हुनु पर्छ । प्रशासनिक यन्त्र बलियो र अनुशासित छ, समाजको रूपान्तरणसँगै आफू पनि रूपान्तरित भएको छ भने त्यस्तो प्रशासनबाट असल काम हुन्छ । त्यो हुन नसकिरहेको हाम्रो प्रशासनिक तन्त्रलाई पनि आफूलाई सुधार गर्ने चेतना पलाएको हुनु पर्छ ।