• १९ असोज २०८२, आइतबार

दसैँमा सधै यात्रुलाई सास्ती

खराब मौसमका कारण गन्तव्यसम्म पुग्नेमा अन्यौल

blog

गुल्मीको बुढाथोकी बसपार्क । तस्विर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा(गुल्मी), असोज १९ गते । मुसिकोट नगरपालिका–२ का सुरज केसी दसैैँमा आउँदा दुई दिन मुग्लिनको पहिरोका कारण जाममा बस्नुपर्‍याे । जेनतेन तीन दिन गाउँमा दसैँ रमाइलो नै रह्यो । तर, व्यापारका कारण सहर फर्किनुपर्ने बाध्यता केसीसँग छ । शनिबार बुढाथोकी बसपार्क आइपुगेपछि मात्र केसीले काठमाडौँ पुग्ने सडक अवरुद्ध भएको थाहा पाउनुभयो तर उहाँले घर फर्किने वा काठमाडौँ जाने केही सोच्नै नसकेको गुनासो गर्नुभयो । केसीले भन्नुभयो,”गाउँ आउने बेला दुई दिन मुग्लिनमा फसियो काठमाडौं फर्किने कुरा पनि अनिश्चित बन्यो । घरबाट हिंडिसकेकाले निकै दोधारमा परिरहेको छु ।’ 

पहाडमा एक दिन मात्र टीका हुने भएकाले भोलिपल्ट फर्किनेहरु बसपार्क आउँछन् । दसैँपछि पूर्णिमासम्म गुल्मी पश्चिमका विभिन्न स्थानमा सरायँ नाच हुने भएकाले अत्यावश्यक  काम बाहेकका व्यक्ति फर्किंदैनन् । व्यापार व्यवसाय, निजी कम्पनीहरुमा जागिर गर्ने, सेना, प्रहरी र परदेश जाने यात्रुहरुको बसपार्कहरुमा घुइँचो सुरु भएको छ । तर फर्किनेहरुमा मौसमको पिरलो सबैभन्दा बढी छ । 

मदाने गाउँपालिका–३ सिर्सेनीका सुवास घर्तीको परदेशको छुट्टी सकिन थाल्यो । दसैँ मनाएर काठमाडौंको सानो काम सक्न घरबाट हिंडिहाल्नुभयो । मौसम अनुकूल छैन साइत सरे पनि टिकट सर्दैन । उहाँले भन्नुभयो,“आधा मन बनाएर झोला बोकेर घरबाट हिँडे । बुटवल गएर जहाज चढ्छु भनेर हिंडे पनि उडानहरु बन्द भएकाले निकै पीडा भएको छ ।”

विस्तारै दसैंमा घर आएकाहरुको गन्तव्यमा फर्किने चटारो सुरु हुन्छ । गुल्मेली नागरिकको यात्रा सहजताको लागि जिल्लामा करिब चार सय सार्वजनिक सवारी साधन छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका अनुसार सबैभन्दा धेरै गुल्मी यातायात प्रालिका ३५० सवारी साधन छन् । तीमध्ये २८० अहिले रुटमा सञ्चालन भइरहेका छन् । अरु बेलाभन्दा बुटवलका लागि मात्रै १५ सवारी साधन थपेर ६९ वटा सञ्चालन गरेको गुल्मी यातायात प्रालिले जनाएको छ । 

त्यस्तै रुरु–रेसुङ्गा यातयात प्रालिका ३१, मैत्री यातायात प्रालिका २३, पश्चिम नेपाल यातायात प्रालिका २४, रेसुङ्गा यातायात प्रालिका आठ र आँगन यातायात प्रालिका १९ सवारी साधन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्रहरी नायब निरीक्षक ज्ञानबहादुर कुँवरले जानकारी दिनुभयो । गुल्मीका गाउँहरुबाट बुटवल सम्मनै गाडीहरु पुग्ने गरेका छन् । तर काठमाडौंबाट पर्याप्त बस छैनन् । अहिले मौसमको कारण लामो दूरीमा काठमाडौंको टिकट कुनै यातायात कम्पनीहरुले वितरण नगरेको कुवँरले बताउनुभयो । पाल्पा प्रशासनको निर्णयका कारण असोज १९ र २० गते रिडी–पाल्पा–बुटवल सडक पनि बन्द भएको छ । जसका कारण कुनै सवारीसाधन बुटवलका लागि छुटेका छैनन् ।

यात्रुहरुको समस्यालाई समाधान गर्न जिल्लाका १२ भन्दा बढि गाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । सहरदेखि गाउँसम्मको यात्रा सुरक्षित बनाउन जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय गुल्मीको समन्वयमा पर्व केन्द्रित यात्रु सहायता कक्ष स्थापना गरिएको हो । दसैंमा घर आउने र गन्तव्यमा फर्किने यात्रुहरुको चाप बढी हुने भएकाले जिल्लाको मुख्य प्रवेशद्वार रिडी, देउराली, तम्घास बसपार्क, उदिनढुङा, पुर्कोट, शान्तिपुर र वामी बजारमा सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।