रमेश विश्वकर्मा
गुल्मी, असोज १९ गते । गुल्मीका फाँटहरुमा धान पाक्न थालेर पहेँलै देख्न सकिन्छ। गत असार महिनामा रोपेको धान अहिले पाक्न सुरु भएसंगै फाँटहरु र धान रोपेको खेतमा पहेँलै देख्दा जिल्लाका किसानहरुमा खुसी समेत देखिएका छन। धान रोपिएका यहाँका विभिन्न फाँट तथा खेतमा अहिले धान पाक्न थालेसँगै पहेँलै देखिन थालेका छन्।
यस जिल्लाको कालीगण्डकी गाउँपालिकाको अर्वेनी, कनौटा, छापचौर, सत्यवती गाउँपालिकाको लिम्घा, अस्लेवा, जोहाङ्गखैरेनी, साहाघाट, च्यामीफाँट, चन्द्रकोट गाउँपालिकाको मजुवा, रुपाकोट, शान्तिपुर, मुसिकोट नगरपालिकाको तल्लाफाँट, इन्द्रेगौँडा, भुवाचिदि, वामीटक्सार, पौदी अरेवा, भर्माचौर लगायत बडिघाट खोलाको आसपासका क्षेत्र, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, शिलादी, अर्जेबेंसीमा धान पाक्न थालेको छ।
त्यस्तै, मदाने गाउँपालिकाको सिर्सेनीको सिम, अग्लुङ्गफेदी, भनभनेको तल्लो क्षेत्र, धुर्कोट गाउँपालिकाको पनाहा खोला र छल्दीको आसपासका क्षेत्र, इस्मा गाउँपालिकाको चौरासीफाँट, हुलाके, हस्तिचौर लगायत छल्दी र निस्ती, गुल्मीदरबार गाउँपालिकाको गरमटारी, खर्जेङ, घोडाहाफाँट, टारी फाँट, छत्रकोट गाउँपालिकाको खर्जेङ, मनबाग, अँगा, उल्लिखोला, बोआ फाँट र रुरुक्षेत्र गाउँपालिकाको टाहाटिम, घिउबेंसी, छम्दीमा धान पाक्न थालेको छ।
यहाँका धान रोप्ने फाँट तथा खेतहरूमा स्थानीय हंसराज, आपझोते, झाप्री, काठे, झिनुवा, सानो भट्टे, ठुलो भट्टे, कोदे, बडियारे, लहरेबडियारे, थापचिनी, गुडुरो, ढल्लोई, पाखे धान, रातो मार्सी धान, मार्सी जातका धान रोपिएको छ। उन्नत जातका सावाँ मन्सुली, मकवानपुर १, खुमल ४, रामधान, हिमाली जातका धान रोपिएको हो। वर्णसंकर जातका यूएस ३१२ र चेम्पाङ्ग धान रोपिएको छ।
गत वर्ष सात हजार १२० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदा २३ हजार १४० मेट्रिक टन उत्पादन भएको थियो। गत वर्षको तुलनामा यस वर्ष एक प्रतिशतले धान उत्पादन घट्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टीकाराम न्यौपानेले बताउनुभयो। उहाँका अनुसार धान उत्पादनको क्षेत्रफलसँगै उत्पादन पनि घट्ने अनुमान गरिएको छ।
यस वर्ष सात हजार ४८ हेक्टर क्षेत्रफलमा २२ हजार ९१० मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ। वर्षे धान रोप्ने समयमा खडेरी परेको हुँदा पानीका मुहानहरु सुख्खासँगै टारी खेतहरु समेत सुख्खा भएको थियो। पानी ढिला परेको र बीउ नर्सरीमै सुकेको सूचना अधिकारी न्यौपानेले बताउनुभयो।