जनार्जन खत्री
सर्लाही, असोज १८ गते । सर्लाहीमा शुक्रबार रातिदेखि नै मेघ गर्जनसहित निरन्तर पानी परिरहँदा जनजीवन प्रभावित बनेको छ । मुख्य चाड दसैंको समयमा निरन्तर मुसलधारे वर्षा भइ बाहिर निस्कनै नसक्ने अवस्था आउँदा जनजीवन प्रभावित बनेको हो ।
भारी वर्षा जारी रहेकाले अत्यावश्यक काम परेका मानिससमेत घर बाहिर निस्कन सकेका छैनन् । मान्यजनकहाँ दसैंको टीका, जमरा ग्रहण गर्न जानुपर्नेहरु लगातार झरी परिरहँदा घरमै थुनिएका छन् । सङ्घीय राजधानी काठमाडौँ जाने सवारी साधन ठप्प भएपछि शनिबार बिहान काठमाडौँ हिँडेका कतिपय मानिस बाटोबाटै फर्किएका छन् ।
दसैं मनाएर शनिबार बिहान काठमाडौँ फर्कने गाडी बुक गरे पनि भारी वर्षाका कारण गाडी जानै नसकेको लालबन्दी नगरपालिका –९, बस्तीपुरका निराजन पोखरेलले बताउनुभयो । भारी वर्षाका कारण सर्लाहीसहित तराई क्षेत्रबाट काठमाडौं जाने गाडी ठप्प भएका छन् । लामो दुरीमा चल्ने अन्य गाडी पनि पातलो मात्रामा चलिरहेका छन् ।
ईश्वरपुर नगरपालिका –१२, का वडाध्यक्ष देविबहादुर खत्री (शिव) ले प्रत्येक खोलामा ठुलो बाढी आएकाले चुरे भेगमा पैदल हिँडेरै जाने अवस्थासमेत नरहेको बताउनुभयो । भारी वर्षाका कारण दसैं मनाइसकेर कर्मथलो फर्कने तयारी गरेकाहरु तत्काल सुरक्षित भएर घरमै बस्नुपर्ने अवस्था आएको छ ।
भारी वर्षात्ले गर्दा सर्लाहीमा बिजुली अनियमित बनेको छ । अधिकांश स्थानमा मोवाइलको नेटवर्कसमेत अवरुद्ध हुँदा टेलिफोन सम्पर्कमै समस्या पैदा भएको स्थानीयले गुनासो गरेका छन् । लगातार पानी परिरहँदा पशुपालक किसानलाई पशुवस्तुका लागि आहारा जुटाउन समस्या परेको छ । पानी पर्न नरोकिँदा शनिबार दिनभर लालबन्दी, हरिवन, बरहथवा, बयलवास, मलङ्गवासहित जिल्लाका हाटबजारका अधिकांश पसल, व्यवसाय खुल्न सकेनन् ।
मौसम पूर्वानुमान महाशाखाको पूर्व सूचनाअनुसार भारी वर्षा भइरहँदा स्थानीय प्रशासन सतर्क अवस्थामा रहेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तुलसीबहादुर श्रेष्ठले बाढी तथा डुबानको समस्या आउनासाथ तत्काल उद्धारको काम गर्न तयार अवस्थामा रहेको बताउनुभयो ।
सिडिओ श्रेष्ठका अनुसार करिव १५ घण्टादेखि अविरल वर्षा भइरहँदा शनिबार साँझ ५ बजेसम्म जिल्लामा बाढी तथा डुबानको समस्या आइसकेको छैन । शनिबार साँझबाट झन् ठुलो पानी पर्न थालेकाले अब बाढी तथा डुबानको समस्या सुरु हुने अनुमान गरिएको छ ।
बागमती, लखन्देही, कालिन्जोर, फूलजोर, बाँकेलगायतका खोलामा शनिबार अपरान्हबाट बाढी बढ्न थालेको छ । खोला किनारका स्थानीयलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीले आग्रह गरेको छ । काठमाडौं उपत्यका, मकवानपुर, सिन्धुलीलगायत क्षेत्रमा पानी पर्नेक्रम बढेसँगै बागमती खोलामा पानीको सतह वृद्धि भएपछि शनिबार दिउँसोदेखि सर्लाहीस्थित बागमती कर्मैयामा बागमती सिँचाइ आयोजनाको ३६ वटै ढोका खोलिएको छ ।