• १५ वैशाख २०८१, शनिबार

भजनी र जोशीपुरका बस्ती डुबानमा

blog

तस्बिर स्रोत : गाउँपालिकाको कार्यालय  डुबानमा परेको जोशीपुर गाउँपालिकाको कार्यालय

धनगढी, असार १६ गते । कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका गाउँ डुबानमा परेका छन् । मङ्गलबार रातिदेखिको वर्षापछि आएको बाढीले गाउँ डुबानमा परेका हुन् । काँढा, कान्द्रा, पथरैया नदीको बाढी गाउँ पसेको छ ।जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जोशीपुर र भजनीमा केही घर डुबानमा परेका छन् । डुबान भएका क्षेत्रमा सुरक्षाकर्मी खटाइएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार घरभित्र पानी पसे पनि खतराको अवस्था छैन । तैपनि पूर्वतयारीस्वरूप सम्बन्धित ठाउँमा सुरक्षाकर्मीको टोली पुगिसकेको जनाइएको छ । कैलालीमा तल्लो तटीय क्षेत्रमा रहेको यी पालिकामा हरेक वर्ष डुबान हुँदै आएको छ । काँढा, मोहना, पथरैया, कान्द्रा नदी र विभिन्न नालामा आएको बाढीले सो क्षेत्रका स्थानीयलाई दुःख दिँदै आएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार जोशीपुर गाउँपालिकाको वडा नम्बर २ स्थित बरगद्ही र वडा नम्बर ३ स्थित फरिया गाउँमा पानी पसेको छ । यस्तै भजनी नगरपालिकाको वडा नम्बर ८ मा सबैभन्दा बढी डुबानले समस्या गरेको जनाइएको छ । सो वडामा अझै बाढी बढ्नेक्रम जारी रहेको भजनी नगरपालिकाका विपत् जोखिम न्यूनीकरण स्रोतव्यक्ति खिम पनाडीले जानकारी दिनुभयो । काँढा, कान्द्रा र मोहना तीनवटै नदीको बाढी वडा नम्बर ८ मा पुगेको जनाइएको छ । 

पनाडीका अनुसार भजनीमा आठसहित वडा नम्बर १ को थेँगरपुर, वडा नम्बर ५ स्थित पलियापुरका घरमा पानी पस्नेक्रममा रहेको छ । वडा नम्बर २ को मोहनपुर–३ को काँढा, ढुसीमा पनि घरआसपासमा बाढी पुगेको छ । कान्द्रा नदीको पानी ओभर फ्लो भएर लालबोझी गाउँमा पसेको पनाडीले जानकारी दिनुभयो । यस्तै वडा नम्बर ७ मा मोहना नदीको बाढी पुगेको जनाइएको छ । नदीमा बाढी आई डुबान भएपछि तटीय क्षेत्रका स्थानीयवासीलाई सजग गराइएको पनाडीले जानकारी दिनुभयो । “हरेक वर्ष आइरहने समस्या भएकाले यहाँका स्थानीय आफैँ पनि सतर्क रहने गरेका छन्,” उहाँले भन्नुभयो । 

यसैगरी, चुरे क्षेत्रमा वर्षा भएपछि बिहान कुलरिया नहरको पानी जानकी गाउँपालिका–४ स्थित मुनुवा गाउँमा पसेको थियो । नहरको पानी सो गाउँका छ घरमा पसेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । नहरमा पानी घटेपछि घरमा पसेको पानी पनि निस्केको जनाइएको छ । नदीमा बाढी आएपछि तटीय क्षेत्रका स्थानीय त्रसित छन् । चुरे क्षेत्रमा थप वर्षा भएमा ठूलो डुबान समस्या हुन सक्ने भजनी नगरपालिका–२ मोहनपुरका गङ्गा चौधरीले बताउनुभयो । 

उहाँले डुबान हुन सक्ने क्षेत्रका स्थानीयमा त्रास बढेको उल्लेख गर्नुभयो । तर नदीमा बाढीको सतह घट्नेक्रममा रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । सुदूरपश्चिमको एक/दुई स्थानमा बिहीबारसम्म भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको बुधबारको बुलेटिनमा उल्लेख छ । 

यस्तै पानीको उपयुक्त निकास नहुँदा धनगढी उपमहानगरपालिका केही भू–भागमा बुधबार बिहान डुबान भएको थियो । वर्षाको पानी जमेर हसनपुर, धनगढी गाउँलगायतका क्षेत्रमा डुबान भएको थियो । डुबान समस्या समाधानका लागि धनगढी उपमहानगरपालिकाले खोलानालामा भएको अतिक्रमण हटाउने अभियान थालेको छ । उपमहानगरपालिकाको कार्यालयले खोलानालामा भइरहेका अवरोध हटाइरहेको छ ।