नवयुवा (जेनजी) पुस्ताले गरेको आन्दोलनको जगमा बनेको वर्तमान अन्तरिम सरकारले प्रतिनिधि सभाको निर्वाचन र क्षति भएका सार्वजनिक संरचनाको पुनर्निर्माणमा ध्यान केन्द्रित गर्दै छ । यस प्रयोजनका लागि खर्च व्यवस्थापन गर्न सरकारले खर्च कटौतीको निर्णय गरेको छ । विगतका सरकारले चालु खर्च घटाउने र मितव्ययी बन्ने भने पनि ठोस कार्य गर्न नसक्दा सार्वजनिक खर्च अचाक्ली बढेको हो । असोज ५ गतेको मन्त्रीपरिषद् बैठकले गरेको खर्च कटौतीको निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले पत्राचार गरिसकेको छ । जेनजी आन्दोलनका व्रmममा क्षति भएका सार्वजनिक संरचना बनाउन र आगामी फागुनमा निर्वाचन गराउन ठुलो स्रोत जुटाउनपर्ने अवस्था छ । यसका साथै आर्थिक पुनरुत्थान र राहतसमेत उपलब्ध गराउनुपर्ने भएकाले सरकारले खर्च कटौतीमा ठोस कदम चालेको हो । अब अत्यावश्यकबाहेकका तालिम, गोष्ठी तथा सेमिनार सञ्चालन नगर्ने र गर्नैपर्ने भए पनि सरकारी हलमा गर्नुपर्ने छ । अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा रोक लगाइएको छ । सरकारको प्रतिनिधित्व अनिवार्य भएको अन्तर्राष्ट्रिय सभा सम्मेलनमा राष्ट्र प्रमुख वा सरकार प्रमुखको नेतृत्वमा हुने प्रतिनिधिमण्डल बढीमा १० जना र सरकारी स्रोतमा बढीमा तीन जना मात्र सदस्य जान पाइने भएको छ । मन्त्रीलगायत राजनीतिक पदाधिकारीका स्वकीय सचिवालयका लागि मन्त्रालयमा कार्यकक्ष नराखिने, यस्ता स्वकीय सचिवालयका कर्मचारीका लागि सवारीसाधन, वैदेशिक भ्रमण र अन्य भौतिक सुविधा पनि उपलब्ध गराइने छैन । प्रेस समन्वयका अतिरिक्त नियुक्ति नगरी प्रवक्ता तथा सूचना अधिकारीबाटै त्यस्तो कामको व्यवस्था गरिने छ ।
सरकारले सांसदसहित राजनीतिक पदाधिकारीका स्वकीय सचिवको सुविधा खारेज गरेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीबाहेक सांसदलगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरिएको छ । अब सबै तहका पदाधिकारीका लागि सल्लाहकार नियुक्ति नगरिने भएको छ । मन्त्री र प्रदेश प्रमुखले स्वकीय सचिवालयमा बढीमा तीन जना मात्र नियुक्ति गर्न पाउने छन् । स्वीकृत दरबन्दीबाहेक अस्थायी तथा करारमा कर्मचारी राखिने छैन । सार्वजनिक निकायका पदाधिकारी र कर्मचारीले नियमित कामका लागि बैठक भत्ता पाउने छैनन् । निजी आवास प्रयोग गर्ने पदाधिकारीले आवास सुविधाबापतको रकम पनि लिन नपाउने भएका छन् । सरकारले राजदूतको नियमानुसारबाहेक माथिल्लो तह तोकी दिइने गरिएका थप सुविधा खारेज गरिदिएको छ । संस्थानमा रिक्त कार्यकारी प्रमुखको पदमा तत्कालका लागि नेपाल सरकारको स्थायी सेवामा रहेका कर्मचारीलाई काजमा खटाइने भएको छ । अब महँगा इलेक्ट्रोनिक्स र विलासी सामग्री खरिद गरिने छैन । ग्यास, साइकल, स्वास्थ्य बिमा शुल्क, विद्युत् महसुल भुक्तानी, ह्यान्डपम्प, साडी वितरण जस्ता वितरणमुखी कार्यव्रmम कसैले पनि सञ्चालन गर्न पाउने छैनन् । सरकारले मितव्ययी आचरण अपनाउने निर्णय पनि गरेको छ, जसका लागि विद्यमान जनशक्तिबाट हुने काम बाह्य सेवा परामर्शबाट गर्न नपाइने व्यवस्था गरिएको छ । सरकारी कार्यालयले आवश्यकताभन्दा बढी कोठा र सुविधा भएको र व्यापारिक क्षेत्र एवं प्रमुख मार्गमा घर बहालमा नलिने निर्णय गरिएको छ ।
मितव्ययी बन्न सरकारले पुराना संरचना तथा सामान प्रयोग गर्न प्रोत्साहित गरेको छ । आन्दोलनका व्रmममा क्षति भएका कार्यालयलाई आवश्यक पर्ने सामग्री नजिकको कार्यालयमा भएकोबाट हस्तान्तरण गरेर उपयोग गर्नुपर्ने छ । सरकारले मन्त्रालयगत बजेट सूचना प्रणालीमा नयाँ प्रविष्ट भएका आयोजना रोक्का राख्ने भएको छ । प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने खुदे्र÷टुव्रmे आयोजनाको पनि बजेट रोक्का हुने भएको छ । राजनीतिक तथा प्रशासनिक पदाधिकारीले अबदेखि एकभन्दा बढी सवारीसाधनको सुविधा पाउने छैनन् । त्यस्तै सरकारी सवारीसाधनको पूर्ण निर्जीवन बिमा गर्ने निर्णय गरिएको छ । सरकारले गरेका निर्णय कार्यान्वयन हुँदा पुँजीगततर्फ एक खर्ब २१ अर्ब रुपियाँ जोगिने अनुमान छ । त्यस्तै चालु र प्रशासनिक खर्च कटौतीमा पनि यो निर्णय प्रभावकारी हुने अपेक्षा गरिएको छ । सरकारले गरेका यी निर्णय पारदर्शी हुने छन् । यसबाट कोही आत्तिनुपर्ने, अत्तालिनुपर्ने अवस्था छैन । अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रसेवक कर्मचारीको कानुनबमोजिमका सेवाका सर्तको सुरक्षा र वृत्ति विकास एवं सेवा, सुविधामा असर पर्ने गरी कुनै निर्णय भने नगरिने पनि स्पष्ट गर्नुभएको छ । आन्दोलनका व्रmममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको छ । सरकारले उक्त कोषमा सहयोग गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।