गोदावरी (कैलाली), असोज १३ गते । धनगढी-खुटिया-बिपीनगर-दिपायल द्रुतमार्ग अन्तर्गत धनगढी-स्याउले सडकखण्डमा दुई पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
धनगढी-स्याउले सडक योजना कार्यालयका इञ्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकखण्डअन्तर्गत गोदावरी नगरपालिका-८ जोनापुर खोला र धनगढी उपमहानगरपालिका-५ स्थित सुकुटी खोलामा पक्की पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो ।
ती दुई पक्की पुल निर्माणका लागि तीन करोड १५ लाखको लागतमा गत आर्थिक वर्षको पुसमा पृथ्वी र पशुपति जेभी निर्माण कम्पनीसँग असार मसान्तमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको इञ्जिनियर रैखोलाले बताउनुभयो । उहाँले निर्माण कम्पनीले कामलाई प्राथमिकतामा राखेर पुल निर्माणको काम गर्दै आएकाले समयावधी थपिएको बताउनुभयो ।
जोनापुर खोलाको र सुकुटी खोलाको पुल निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको इञ्जिनियर रैखोलाले बताउनुभयो । उहाँले पुल निर्माणको कार्य सम्पन्न भएको बताउँदै कालोपत्र र खोला किनारतिर तटबन्धको काम मात्र बाँकी रहेको जानकारी दिनुभयो ।
धनगढी-स्याउले-हाटखोलीसम्म १३ किलोमिटर ४०० मिटर सडक कालोपत्रको काम अघिल्लो आर्थिक वर्ष २०८०/८१ असारमा सम्पन्न भइसकेको थियो । उक्त सडकखण्ड अन्तर्गत स्याउले-हाटखोली सात किलोमिटर कालोपत्रको काम सम्पन्न हुने क्रममा रहेको आयोजना कार्यालयले जनाएको छ ।
वि.सं.२०६४ मा धनगढी-खुटिया-दिपायल द्रुतमार्गको औपचारिकरूपमा सर्भे गरी ‘ट्रयाक’ खोल्ने काम गरिएको थियो । त्यस बेला खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भएकामा पछि पूर्वपश्चिम राजमार्गको स्याउले-धनगढीसम्मको १० किलोमिटर सडक थपेर ९२ किलोमिटर कायम गरिएको थियो ।
धनगढी-खुटिया-दिपायल-चैनपुर-उरैभञ्ज्याङ ‘फास्टट्र्याक’ छोटो दूरीलगायत अन्य दृष्टिकोणले महत्वपूर्ण मानिएको उक्त सडक निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा निर्माण कार्यले गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ । सो सडक धनगढी-खुटिया-डोटीको बिपीनगर-केआइसिंह गाउँपालिका हुँदै दिपायलसँग जोडिने छ । सो सडकखण्ड अन्तर्गत दिपायलसम्म ट्र्याक खोल्ने काम पूरा भएर स्तरोन्नति भइरहेको आयोजना कार्यालयका इञ्जिनियर रैखोलाले जानकारी दिनुभयो । रासस