• १३ असोज २०८२, सोमबार

गोरखाको फूलपाती हनुमानढोका पठाइयो

blog

गुणबहादुर रोका 

सुलीकोट, असोज १३ गते । गोरखा दरबारको फुलपाती सोमबार काठमाडौंको हनुमान ढोका पठाइएको छ । बिहान ७ : ३८ बजे दशैघरबाट निकालिएको फूलपाती बा २ झ २१२८ नम्बरको गाडीमा राखेर काठमाडौ पठाईएको गोरखा दरबारका मुल पुजारी शारदा प्रसाद भट्टराईले जानकारी दिनुभयो । 

उहाँका अनुसार गोरखा नगरपालिका–४ फिनामका गोरखा दरबारमा कार्यरत कर्माचारी सानु कान्छा बाँनिया दरबारको फूलपाती लिएर काठमाडौं हनुमान ढोकालाई बुझाएको पत्र गोरखा दरबार ल्याएपछि गोरखा फर्कने क्रार्यक्रम रहेको छ । 

सोमबार बिहान ४ बजेदेखि ५ बजेसम्म मुल पाँण्डे थरका पुजारीले गोरखा नगरपालिका आसपासको जंगलबाट संकलन गरेको फूलपाती सोमबार बाजागाजा सहित हनुमान ढोका पठाईएको गोरखा दरबार हेरचाह अड्रडाले जानकारी दिएको छ । 

गोरखा नगरपालिकाको तिनपिप्ले फाँटमा बारबेर गरेको राखेको जग्गामा आईतबार साँझ पुजारीहरुले क्षमा बेल निमन्त्रण पुजा गरेर आसपासको जंगलबाट फूलपाती संकलन गरिएको थियो, “मुल पुजारी भट्टराईले भन्नुभयो, त्यहि फूलपाती आज सोमबार बिहान ७ : ३८ बजे ल्याएर काठमाडौं पठाएका हौं ।”

फूलपातीमा बेल, दारिम, अशोका, धान, सामा, केरा, हलेदो, उखु र जयन्ती समाबेश भएको गोरखा दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख बिष्णु प्रसाद पाठकले बताउनुभयो । गोरखाबाट पठाएको फूलपाती हनुमानढोकाबाट फूलपाती संकलनको लागि जीवनपुर आएका टोलीलाई हस्तान्त्रण गरिने र सोहि टोलीले जमल हुदै साँझ हनुमान ढोका लैजाने प्रचलन रहेको बताइएको छ ।

पहिले धादिङको जिवनपुर नुवाकोट हुँदै हिडेर फूलपाती हनुमान ढोका पुर्‍याउने प्रचलन रहेको थियो । विसं २०६६ साल देखि यो क्रमलाई तोडेर मोटरबाटोको प्रयोग गर्न थालिएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ । 

नेपाल राज्य एकीकरणको क्रममा पृथ्बी नारायण शाहले काठमाडौ माथि विजय प्राप्त गरेर राजधानी बनाएसँगै गोरखाको फुलपाती हनुमान ढोका लाने प्रचलन सुरु भएको विश्वास छ । आजै सोमबार साँझ बाजागाजासहित हर्स बडाईका साथ गोरखा दरबारमा पनि फूलपाती भित्राउने प्रचलन रहेको गोरखा दरबार हेरचाह अड्डा गोरखाका बिष्णु प्रसाद पाठकको भनाइ छ ।