अर्घाखाँची समाचारदाता
अर्घाखाँची, असोज ९ गते । वैदेशिक रोजगारीका लागि गएका १३ जनाको ठगिएको २३ लाख रकम फिर्ता गरिएको छ । विदेश पठाउने भन्दै पैसा लगेर फिर्ता नगर्ने अर्घाखाँचीका १३ जना सर्वसाधारणको २३ लाख २४ हजार ७६५ रुपियाँ फिर्ता गरिएको हो । सुरक्षित आप्रवासन केन्द्र (सामी) का जिल्ला संयोजक वसन्त श्रेष्ठले जिल्लाका विभिन्न स्थानका १३ जनाको रकम ठगिएकोमा फिर्ता गरिएको बताउनुभयो ।
२०८१/८२ मा आप्रवासी स्रोत केन्द्रमा ३४ वटा ठगीका उजुरी परेकामा १३ जनाको उजुरी फस्र्योट गरी रकम फिर्ता गरिएको हो । पाँच जनाको आंशिक रकम फिर्ता भएको, तीन वटा उजुरी विभागमा पठाइएको, पाँच जनाको लेनदेनको कागज गरिएको र अन्यको फलोअपमा रहेको कार्यक्रम संयोजक वसन्त श्रेष्ठले जानकारी दिनुभयो ।
केन्द्रले सात हजार ८८१ जनालाई वैदेशिक रोजगारसम्बन्धी परामर्श प्रदान गरेको छ । संयोजक श्रेष्ठका अनुसार वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका, अङ्गभङ्ग भएका तथा दुर्घटनामा परेकाको ६८ लाख ६९ हजार ४३१ रुपियाँ बिमाबापतको रकम उपलब्ध गराएको छ ।
प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले सुरक्षित तवरले श्रम सम्झौता गरेर मात्र वैदेशिक रोजगारीमा जान तथा बाहिर जाने क्रममा कोही ठगिएको भए जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रमा उजुरी गर्न प्रमुख जिल्ला अधिकारी अर्यालले आह्वान गर्नुभएको छ ।
जिल्लाबाट वैदेशिक रोजगारीमा गएकामध्ये विगत सात वर्षमा ५८ जनाले ज्यान गुमाएका छन् ।
रोजगारीका लागि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अर्घाखाँचीका ५८ जनाले ज्यान गुमाएका हुन् । हालसम्म अर्घाखाँचीबाट ५७ हजार १२ जना वैदेशिक रोजगारीमा गएकामा ५८ जनाले ज्यान गुमाएको र ७४ जना अङ्गभङ्ग तथा गम्भीर बिरामी परेको तथ्याङ्कमा उल्लेख छ ।
यो सङ्ख्या श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाको मात्र हो । गैरकानुनी ढङ्गले जाने, प्रक्रिया पूरा नगरी वा पर्यटन भिसामा जाने तथा अध्ययन भिसामा जानेको तथ्याङ्क भने फरक पर्न सक्ने स्रोत केन्द्रले जनाएको छ ।