काठमाडौँ, असोज ९ गते । नेपाली उद्यमीहरूको अन्तर्राष्ट्रिय सञ्जाल फेडरेशन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (फिन्ये) उत्तर अमेरिकाको उद्यमी सम्मेलन तथा वार्षिक साधारण सभा अमेरिकाको डलास, टेक्सासमा सम्पन्न भएको छ ।
सम्मेलनमा उत्तर अमेरिकामा रहेका करिब दुई सय नेपाली उद्यमीहरूले उत्साहपूर्वक सहभागिता रहेको थियो । आठ वर्षीया बालिका अन्या श्रेष्ठले प्रमुख अतिथिको रूपमा बिरुवामा पानी हालेर कार्यक्रमको शुभारम्भ गर्नुभयो ।
सम्मेलनमा नेपाल तथा अमेरिकाका प्रतिष्ठित व्यक्तिहरूले वक्ताको रूपमा सम्बोधन गरेका थिए । कार्यक्रममा विशेष अतिथि नेपालबाट ‘खल्ती’ डिजिटल वालेटका संस्थापक अमित अग्रवाल र नेपाल राष्ट्र बैंकका निर्देशक प्रल्हाद गिरीले आफ्ना अनुभव सुनाउनुभएको थियो । त्यसैगरी, अन्तर्राष्ट्रिय वक्ता रायन म्यानली तथा फिन्ये आइईसीका संस्थापक तथा उपाध्यक्ष प्रकाश थापा र प्रबुद्ध दाहालले उद्यमशीलताका विविध पक्षमा प्रकाश पार्नुभएको थियो ।
यसैगरी, सजन गौतमले सहजीकरण गरेको प्यानल छलफलमा सतीश गैरे, सुनिल साह, सुमन थापा, अनु तामाङ र प्रल्हाद गिरी जस्ता वक्ताहरूले उद्यमशीलता र आर्थिक वृद्धिका विषयमा महत्त्वपूर्ण दृष्टिकोणहरू प्रस्तुत गर्नुभयो ।
यसैबीच, साधारण सभाले फिन्ये अमेरिका च्याप्टरको २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति पनि सर्वसम्मत रूपमा चयन गरेको छ । नवगठित कार्यसमितिको अध्यक्षता सविन्द्र थापाले गर्नुभएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नारायण खकुरेल, उपाध्यक्षमा राज प्रकाश भण्डारी र राम हरि थापा, महासचिवमा अनु तामाङ, सचिवमा सोनी थापा र कोषाध्यक्षमा श्रद्धा थाकुरी चयन हुनुभएको छ ।
त्यसैगरी, कार्यसमिति सदस्यहरूमा अनिता गुरुङ, दीपक खरेल, चानी लामा, चक्रपाणि अधिकारी, नवराज आचार्य, रविन कार्की (र्यान), सुनिल गौतम र रेश्मा ताम्राकार रहेका छन् । त्यस्तै सञ्चार संयोजक तथा प्रवक्ताको जिम्मेवारी यूएस खबरका अध्यक्ष तथा प्रधान सम्पादक ओम आचार्यलाई दिइएको छ ।