काठमाडौँ, असोज ९ गते । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य मातृभाषा विभागले झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका १० अल्पसङ्ख्यक आदिवासी समुदायका भाषाहरूलाई समेटेर ‘सिरुवा–जातिरि’ बहुभाषिक पत्रिका प्रकाशित गरेको छ । ‘सिरूवा जातिरि’ सहित १० वटा पत्रिका प्रज्ञा–प्रतिष्ठान साहित्य मातृभाषा विभागबाट प्रकाशित भइसकेका छन् । यसबाट नेपाली मातृभाषाको संरक्षण र विकासमा ऐतिहासिक कार्य भएको देखिन्छ ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर २६औँ मातृभाषा साहित्य शृङ्खलाको समुद्घाटन गर्नुभएको थियोे । उहाँले ‘सिरूवा– जातिरि’ को सार्वजनिक गर्दै अहिले मातृभाषामा १० वटा पत्रिका प्रकाशित भइसकेका छन् । यी पत्रिकामा ४६ वटा मातृभाषाका साहित्यिक लेख रचना, विश्लेषण र इतिहासलाई समेटिएको बताउनुभएको थियोे ।
प्रज्ञा–प्रतिष्ठानको ६८ वर्षको इतिहासमा अहिले मातृभाषाको पुनर्जागरण भएको उल्लेख गर्दै आफ्नो कार्यकालको अढाइ वर्षमा मातृभाषा साहित्यलाई प्राज्ञिक सत्तासँग जोड्दै अघि बढ्न सकेकामा आफूलाई गर्वबोध भएको चर्चा गर्नुभएको थियोे । उहाँले जेनजी विद्रोहको प्रभावले नेपाली समाज, संस्कृति र राजनीतिलाई नयाँ ठाउँमा ल्याएको छ । अब जेन्जी सहिदहरूको अवमूल्यन गर्ने छुट कसैलाई नभएको चर्चा गर्दै यसले साहित्य र संस्कृतिमा पारेको प्रभावबारे अध्ययन हुने बताउनुभएको थियोे । कार्यक्रममा धिमाल जातीय विकास केन्द्रले कुलपति भूपाल राई र सदस्य सचिव डा. धनप्रसाद सुवेदीलाई सम्मान पनि गरेको थियोे ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले लोपोन्मुख जाति र तिनका मातृभाषाको विकास गर्नु सबैको दायित्व भएको उल्लेख गर्नुभएको थियोे । उहाँले मातृभाषाको जगेर्ना गर्न सबैले हातेमालो गर्दै सहकार्य गर्न जोड दिनुभएको थियोे ।
सभाध्यक्ष, प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख एवम् ‘सिरूवा–जातिरि’का प्रधान सम्पादक राजन मुकारुङले ‘मोरङ, झापा र सुनसरीलगायतका विभिन्न स्थानमा बोलिँदै आएका लोपोन्मुख अवस्थामा रहेका १० मातृभाषालाई समेटेर साझा पत्रिका सिरूवा–जातिरि’ प्रकाशनले नयाँ उत्साह थपेको बताउनुभएको थियोे । उहाँले जेनजी पुस्ता र साहित्यको चर्चा गर्दै ‘एक्स’को अनुभव र ‘वाइ’को तागत र ‘जेनजी’ को जोशलाई आत्मसात् गर्दै नयाँ पुस्तालाई मातृभाषाको सौन्दर्यबोध गराउनु सके मात्र मातृभाषाको संरक्षण र संवर्धनमा बल पुग्ने बताउनुभएको थियोे । आगोलाई मुन्दुमले जीवनको ताप, ऊर्जा र न्यानो हो भनेर सिकाउँछ । तर त्यही आगोलाई “फायर’’ मात्रै भनेर सिकाइयो भने त सिंहदरबार फेरि पनि जल्छ । कुनै पनि भाषा, ज्ञान, संस्कृतिलाई नयाँ पुस्ता जेनजीसम्म पुस्तान्तरण गर्दै अघि बढ्न पनि लोपोन्मुख आदिवासी मातृभाषामा पत्रपत्रिका निकाल्नुपरेको चर्चा गर्नुभएको थियोे ।
प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.विष्णुकुमार सिङ्जालीले ‘मगर ढुट भाषाको साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । साथै, रविलाल ताजपुरिया र तेजेन्द्र ताजपुरियाको सहलेखन रहेको ‘ताजपुरिया भाषा र लोकसाहित्यको अवस्था’विषयक कार्यपत्र तेजेन्द्र ताजपुरियाले प्रस्तुत गर्नुभएको थियोे । उक्त कार्यपत्रमाथि सहभागीका तर्फबाट भाषा आयोगका निवर्तमान सदस्य अमृत योन्जन, प्रा.श्रीराम उपाध्याय ,पूर्णबहादुर घर्तिमगर र अञ्जु राजवंशीले आआफ्नो जिज्ञासा र सुझाव प्रस्तुत गर्नुभएको थियोे ।
मातृभाषा साहित्यको २६ औँ शृङ्खलामा
वाम्बुले राई भाषामा एलिना राई, बैतडेली भाषामा कर्ण दयाल सोराडी र शेर्पा भाषामा डेण्डी शेर्पाले आआफ्नो कविता वाचन गर्नुभएको थियोे ।
कार्यक्रममा धिमाल जातीय विकास केन्द्रका अध्यक्ष दानबहादुर धिमालले शुभकामना मनतव्य र सम्पादनसम्बन्धी आफ्नो धारणा बेचन उराँवले राख्नुभएको थियोे । ‘सिरूवा जातिरि’का सम्पादक मण्डलमा बेचन उराँव, जीवनकुमार धिमाल, दिलीप बास्के, जगदीशप्रसाद ताजपुरिया र कार्यकारी सम्पादकमा डा.सोमबहादुर धिमाल रहनुभएको थियो । कार्यक्रमको उद्घोषण साहित्यकार शोभा सुनुवारले गर्नुभएको थियोे ।