हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), असोज ९ गते । मुस्ताङबाट यसबर्ष ३६ करोडभन्दा बढी मूल्य बराबरको भेडा च्याङ्ग्राको व्यापार भएको छ । दशैंका लागि मुस्ताङको लो–घेकर दामोदरकुण्ड, लोमान्थाङ गाउँपालिका, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकासहित जिल्ला भित्रका किसानले पालेका र कर्णाली प्रदेशको डोल्पा, मुगु र हुम्ला जिल्लाबाट ल्याइएको भेडाच्याङ्ग्राबाट ३६ करोड ५० लाख रुपियाँको हाराहारीमा कारोबार भएको छ ।
यस बर्ष मुस्ताङका कृषकले ६ सय ७५ भेडा (च्यालुक), ७ हजार दुईसय १ च्याङ्ग्रा बिक्री गरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । त्यसैगरी मुगुबाट पाँचसय, जुम्लाबाट सातसय ७५, तिब्वत हुदै कोरला नाकाबाट पाँचसय ५० र डोल्पा जिल्लाबाट ५ हजार ९ सय भेडा च्याङ्ग्रा मुस्ताङ हुदै बाहिरिएको केन्द्रका प्रमुख डा. लालमणि अर्यालले बताउनुभयो ।
केन्द्र प्रमुख डा. अर्याल भन्नुहुन्छ, ‘‘दशैमा बिक्री गर्ने भेडाच्याङ्ग्रा निकासी भइसकेको छ, मुस्ताङका किसानले गोठबाट र आफैंले बेचेर मनग्य आम्दानी गर्नुभएको छ ।’’ केन्द्र प्रमुख डा. अर्यालका अनुसार अब दशैंका लागि फाटफुट बाहेक सबै थासाङ गाउँपालिकाको सिमाना घाँसाबाट बाहिरिएको छ ।
मुस्ताङका किसानले रोज्जा, रोमा तथा सानाठूला भेडा च्याङ्ग्राको उमेर र तौलअनुसार प्रतिगोटा २८ हजारदेखि ४० हजारका दरले बिक्री गरेका छन् । सरदर मूल्यअनुसार ३६ करोडभन्दा बढीको भेडा च्याङ्ग्राको बिक्री भएको केन्द्रका प्रमुख डा. अर्यालले बताउनुभयो ।
गत वर्षको तुलनामा करिब एक करोडभन्दा बढीको भेडा च्याङ्ग्रा बिक्री भएको छ । मुस्ताङका भेडाच्याङ्ग्रा पालक कृषक तथा छिमेकी जिल्ला म्याग्दी, कास्की, काठमाडौंसहित देशको विभिन्न जिल्लाबाट गएका ब्यापारीले बजारमा लगेर बिक्री गरेका छन् ।
मुस्ताङमा खरिद गर्न जाने ब्यापारीले कृषकबाट खरिद गरेको मूल्य लुकाउने गरेका छन् भने बजारमा रोज्जा भेडा च्याङ्ग्रालाई ४० हजार रुपियाँभन्दा बढीमा बिक्री गर्ने गरेको पाइन्छ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –१, छोसेरका कृषक आङ्ग्याल गुरूङले यसवर्ष १ करोड ५० लाखभन्दा बढीको भेडाच्याङ्ग्रा बिक्री गरेको बताउनुभयो ।
कृषक गुरूङले भन्नुभयो, ‘‘मेहनत अनुसारको कमाइ छ, बजारबाट आउने ब्यापारीले मनपरी मूल्य गर्दा च्याङ्ग्रापालक कृषक मारमा परेका छन् ।’’ सामान्यतः एउटा भेडाच्याङ्ग्रालाई मासु खानयोग्य बनाउन ३ देखि ५ वर्षसम्म पाल्नुपर्ने अवस्थामा चरन, खोप तथा गोठालोसहित अन्य खर्च हुन्छ ।
चरन क्षेत्र र गोठाला अभावले कृषकले बजारको मागअनुसार उत्पादन गर्न सकेका छैनन् । नश्ल सुधार तथा व्यवस्थापन गर्दै मासुको उत्पादनलाई प्रोत्साहन गरिएकाले मुस्ताङबाट बाहिरिने भेडाच्याङ्ग्रा उपभोक्ताको रोजाइमा परेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइका कार्यालयका अनुसार जिल्लाभरी एकसय कृषक सूचिकृत कृषकको गोठमा ५६ हजार च्याङ्ग्रा छन् । कृषकले बिक्री योग्य च्याङ्ग्रा मात्र बजारमा पठाउँछन् ।
दशैंपछि तिहारका लागि समेत करिब ४ देखि ५ हजार भेडाच्याङ्ग्रा बाहिरिने अनुमान गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विशेषगरी जडीबुटी खाएर हुर्केकोे भन्दै स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी हुने उपभोक्ताको भनाइ छ ।