• ९ असोज २०८२, बिहिबार

डेनमार्कका विमानस्थलमाथि ड्रोन उडान, आलबोर्ग केही घण्टा बन्द

blog

कोपनहेगन, असोज ९ गते । यस हप्ताको सुरुमा कोपनहेगन विमानस्थललाई बन्द गर्न बाध्य बनाउने घटनापछि डेनमार्कभरका धेरै विमानस्थलमाथि ड्रोन देखिएको प्रहरीले बिहीबार जनाएको छ । तीमध्ये आलबोर्ग विमानस्थललाई घण्टौँका लागि बन्द गरिएको थियो ।

हालै पोल्यान्ड र रोमानियामा यस्तै घटना देखिनुका साथै एस्टोनियाको हवाई क्षेत्रमा रूसी लडाकू विमानले उल्लङ्घन गरेको खबर सार्वजनिक भएपछि युक्रेनमा जारी रुसी आक्रमणका सन्दर्भमा यसले थप तनाव बढाएको छ । प्रहरीका अनुसार आलबोर्ग, एस्बेर्ज, सन्डरबोर्ग र स्क्रिडस्ट्रप एयर बेस वरिपरि ड्रोनहरू देखिएका थिए । 

देशको दोस्रो ठूलो आलबोर्ग विमानस्थललाई केही घण्टा बन्द गरी पछि मात्र पुनः सञ्चालनमा ल्याइएको थियो । “ड्रोन दुई घण्टासम्म ठूलो क्षेत्रमा उडिरहेका थिए तर तल झार्न सकिएन”, नर्थ जुटल्यान्डका प्रमुख प्रहरी निरीक्षक जेस्पर बोजगार्ड म्याडसेनले भन्नुभयो, “यस समयमा ड्रोन चलाउने व्यक्तिलाई पनि हामीले पक्राउ गरेका छैनौँ ।”

दक्षिण जुटल्यान्ड प्रहरीले बुधबार साँझ एस्बेर्ज, सन्डरबोर्ग र स्क्रिडस्ट्रप विमानस्थल वरिपरि ड्रोन देखिएको रिपोर्ट पाएको जनाएको छ । तर त्यहाँ तत्काल कुनै उडान तय नभएकाले ती विमानस्थलहरू बन्द गरिएकाे थिएन । प्रहरीका अनुसार ड्रोन ‘बत्ती बालेर उडाइएका’ थिए र जमिनबाट स्पष्ट देखिएका थिए, तर ती कस्तो प्रकारका थिए वा उद्देश्य के थियो भन्ने अझै पत्ता लागेको छैन । 

‘परिस्थिति स्पष्ट पार्न’ गुप्तचर निकाय र सशस्त्र सेनासँग संयुक्त अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कोपेनहेगन विमानस्थलमाथि ठूला ड्रोन उड्दा केही दिनअघि सुविधा घण्टौँका लागि बन्द भएपछि अनुसन्धानलाई तीव्र पारिएको हो । प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले कोपेनहेगनको घटनालाई ‘डेनमार्कको महत्वपूर्ण पूर्वाधारमा भएको सबैभन्दा गम्भीर आक्रमण’ भन्नुभएको छ ।

“हामीले हालै देखिरहेका अन्य ड्रोन आक्रमण, हवाई उल्लङ्घन र युरोपेली विमानस्थलमाथि साइबर आक्रमणसँग यो घटनाको सम्बन्ध देखिन्छ”, उहाँले भन्नुभयो । तर मस्कोले संलग्नता अस्वीकार गरेको छ । पोल्यान्ड, एस्टोनिया र रोमानियाले पनि लडाकू जेट वा ड्रोनमार्फत हवाई उल्लङ्घन गरेको आरोप अस्वीकार गरेका छन् ।

डेनमार्कले पहिलो पटक लामो दूरीका सटीक हतियार प्राप्त गर्ने घोषणा गरेपछि यस हप्ताका ड्रोन गतिविधि भएका हुन् । कोपेनहेगनका लागि मस्कोका राजदूत भ्लादिमिर बार्बिनले डेनमार्कको यो कदमलाई ‘शुद्ध पागलपन’ भनेर टिप्पणी गर्नुभएको थियो । रासस/एएफपी