• ९ असोज २०८२, बिहिबार

जेनजी आन्दोलनको असर

पर्यटक खचाखच हुने बेला सुनसान छ मनाङ

blog

बेँसीसहर–चामे खण्डको हिलाम्मे सडकबाट बाहिरिँदै मनाङबासी । तस्बिरः यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट

मनाङ, असोज ९ गते । देशभरिका सहरबाट जन्मथलोतिर दशैं मनाउन जानेको लर्को लागिरहेका बेला मनाङ सुनसान बन्दैगएको छ । गत वर्षहरुमा यति बेला पर्यटकले खचाखच हुने मनाङमा जेनजी आन्दोलको असर पर्यटनमा पर्दा सुनसान बन्दैगएको हो । 

१० दिन अघिसम्म चामेमा रहेको तातोपानी कुण्डमा विदेशी पर्यटकको घुँइचो लागेको भए पनि हिजोआज सुनसान छ । अहिले विदेशी पर्यटक नभेटिएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘साँझपख तातोपानी कुण्डमा नुहाउने विदेशी पर्यटक टन्नै भेटिन्थे, केही दिनदेखि यता शून्य छ ।’’ 

प्रजिअ पौड्याल पर्यटक शुन्य हुनुमा जेनजी आन्दोलन र सडक सञ्जाल नै प्रमुख कारण भएको बताउनुभयो । विशेषगरी मनाङ भित्रिने लमजुङ खण्डको बाटो हिलाम्मे हुनु र स्थलमार्गबाट काठमाडौंदेखि बेँसीसहर हुँदै मनाङ आउने पर्यटकलाई ठाउँ–ठाउँमा गएको पहिरो नै मुख्य कारण बनेको छ । 

चितवनमा गएको पहिरो र यातायात सञ्चालनमा परेको कठिनाइले गर्दा पनि मनाङ सुनसान बन्दैगएको छ । थोरै जनसंख्या भएको मनाङमा आन्तरिक पर्यटक पनि यसपाली नआएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङ प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो । 

प्रमुख भुजेलले सडक सञ्जाल तथा सत्ता परिवर्तनको असर पर्यटनमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सेप्टेम्बर महिनाका लागि गरिएका बुकिङ रद्द भएका छन् । तर अक्टोबरका लागि भने बुकिङ भएको सूचना पाएको छु । होटल अकुपेन्सी पनि घटेको छ ।’ 

चाडपर्वमा घुम्ने आन्तरिक पर्यटक पनि वर्षा र पहिरो तथा जेनजी आन्दोलनको असरले गर्दा सुनसान बन्दैगएको छ । विगतका वर्षमा आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने मनाङका होटलहरु यसपाली सिजनको सुरुमै सुनसान बनेको होटल व्यवसायी फुर्वा लामाले बताउनुभयो । 

दुई दिनमा उल्टिएको सत्ताले गर्दा विदेशी पर्यटक एकैचोटि घटेको तर्क गर्नुहुन्छ नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ । अध्यक्ष गुरुङले भन्नुभयो, ‘‘सुनसान छ मनाङ यतिबेला । पर्यटक भित्रिने मुख्य प्रवेशद्वारको रुपमा मेरै गाउँपालिका पर्छ । गतवर्ष यतिबेला बाटो हिँड्न पनि मुस्किल पथ्र्यो । अहिले विदेशी पर्यटक देख्न नपाएको हप्ता दिन भइसक्यो ।’’ 

यति मात्र नभई भएका कर्मचारी पनि सहायकलाई कार्यालय कुर्ने जिम्मेवारी दिँदै दशैं बिदामा घर फर्किसकेका छन् । कर्मचारी मात्र नभई ९० प्रतिशत मनाङीको काठमाडौं, पोखरा, चितवनलगायत सहरमा घर तथा व्यापार व्यवसाय छ । उनीहरुको बालबच्चा सहरमा अध्ययन गर्छन् । जनप्रतिनिधि तथा व्यवसायीहरु आफ्नो परिवारसँग बसेर चाडपर्व मान्न सहर छिर्छन् । गाउँ सुनसान हुँदैगएको छ ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले आफू पनि परिवारका साथ चाडपर्व मान्न काठमाडौंतिर लागेको बताउनुभयो । अध्यक्ष लामाले पनि जेनजी आन्दोलनले गर्दा मनाङको पर्यटनमा असर पुगेको बताउनुभयो । उहाँले अन्य जिल्लामा भिडले तँछाडमछाड गरी भरिभराउ गाडीमा रमाउँदै गाउँ पस्नेहरुको ताँती लागिरहेका बेला मनाङ भने सुनसान बनेको बताउनुभयो ।