• ९ असोज २०८२, बिहिबार

लोकतन्त्र रक्षाको साझा सङ्कल्प

blog

नेपालको माटो, जुन सहिदहरूको रगत र जनताको आँसुले सदैव सिञ्चित छ, आज फेरि एक पटक खरानीको गन्ध र सन्नाटाको पीडाले भारी भएको छ । भदौ २३ मा देशका चोक चोकमा उभिएको नवयुवाको आन्दोलन, जसले सुशासनको पक्षमा र भ्रष्टाचार अन्त्यका लागि आवाज उठायो । त्यसलाई दबाउन राज्यले जुन बर्बर दमनको नीति अख्तियार ग¥यो यसको जति नै आलोचना गरे पनि अपुग हुन्छ । आन्दोलनमा नवयुवाले उठाएको माग केवल उनीहरूको मात्र थिएन, त्यो सर्वसाधारण नेपालीको पनि चाहना थियो । विडम्बना यो आन्दोलनको पवित्र उद्देश्यमा देशका सम्पदा र सार्वजनिक सम्पत्तिको तोडफोड, व्यक्तिगत आक्रमण, आगजनी, चोरी र लुटपाटले दाग लगायो । यी अमानवीय हर्कतले आन्दोलनको गतिलाई शिथिल बनायो । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी आरजु देउवामाथि भएको हमला आपत्तिजनक र लोकतन्त्रविरोधी गतिविधि थियो । यस्ता कार्यले हाम्रो समाजको नैतिकतामाथि प्रश्न उठाउँछ, देश निर्माणको साझा सपनालाई कमजोर बनाउँछ, आपसी सद्भावमा खलल पु¥याउँछ । आन्दोलनको पवित्रताको रक्षा गर्न, नेतालाई शासक होइन जनताको सेवक बन्न खबरदारी गर्न, देशका लागि गोली थाप्न तयार युवाको सपना पुरा गर्न अब सबैलाई एकताको बाटोमा डो¥याउनु पर्छ । निडर, प्रेरक, र उत्साहले भरिएको तर हिंसारहित अनि रचनात्मक गतिविधिको खोजीमा अब नेपाली एकजुट हुनु पर्छ ।

हाम्रो इतिहासले सिकाएको छ, परिवर्तन हिंसाले होइन, विचारले आउँछ, क्रान्ति आगजनीले होइन, एकताले सम्भव हुन्छ । अग्रजले आफ्नो जीवन दाउमा राखेर देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरे । हामी रैतीबाट नागरिक बन्यौ । आज पनि सडकमा गोली खाएर ढलेका सहिदका सपना मरेका छैनन, तिनका आशा जिउँका तिउँ छन्, खरानीसँगै डढेका छैनन् । जब हामी व्यक्तिगत आक्रमण, तोडफोड र हिंसाको बाटो रोज्छौँ, त्यतिबेला लाग्छ हामी सहिदको सपनामाथि आघात पु¥याइरहेका छौँ । हामी नेपली आमाका आँसुको अपमान गरिरहेका छौँ, जसले आफ्नो कोख रित्तिसक्दा पनि देशका लागि आशा बोकेर बाँच्ने साहस गरे । आन्दोलनको उद्देश्य भ्रष्टाचारको अन्त्य र लोकतन्त्रको सुदृढीकरण थियो, सुशासन कायम गर्ने थियो तर यो उद्देश्य हिंसाले होइन, संवाद र वार्ता अनि संयमताबाट प्राप्त हुन्छ भन्ने बुझ्न जरुरी थियो ।

राजनीतिक दल र तिनका नेता, जसलाई हामीले नेतृत्वको म्यान्डेट दिएका थियौँ, तिनले अब पनि नसच्चिने हो भने जनभावनाको कदर नगर्ने हो भने देश पुनः दशकौँ पछाडि धकेलिने छ । नेताहरूको जीवनशैली र पार्टी सञ्चालनको तौरतरिका नेपाली जनताले नजिकबाट सूक्ष्म तवरले नियालिरहेको तथ्य बुझ्न जरुरी छ । 

हिजो राणा, राजा फाल्न नेताहरूको पछाडि लागेका जनता आज किन रुष्ट छ्न् भन्ने सम्झन ढिला गर्नहुन्न । तिनलाई गाली मात्र गरेर वा व्यक्तिगत हमला गरेर मात्र पनि समस्याको समाधान निस्किँदैन । नेतालाई उनीहरूको योगदानको कदर गर्दै बदलिँदो समय अनुसार युगसापेक्ष परिमार्जित भएर सच्चा सेवक बन्न प्रेरित गर्नु पर्छ । नेताको मन र कर्मलाई जनताको दुःख सुखसँग जोड्ने वातावरण निर्माणमा भूमिका खेल्नु पर्छ । जबसम्म नेता वा जनताले आफ्नो जिम्मेवारी बुझ्दैनन्, तबसम्म लोकतन्त्र माथि खतराको बादल मडारिरहने छ । 

आज किन यति छोटो समयमा हाम्रो व्यवस्थामाथि थ्रेट उत्पन्न भयो, किन विशेषतः नवयुवामा चरम निराशा छ यो कुरा मनन गर्नु जरुरी छ । जेनजीको मागलाई नेताहरूले गम्भीरतापूर्वक बुझ्नु अपरिहार्य छ । आन्दोलनकारीको मुखुन्डो भिरेर विध्वंस मच्याउनेलाई कारबाहीको दायरामा ल्याउनु आवश्यक छ । जेनजी आन्दोलनको माग गलत थिएन । यो आन्दोलन हरेक नेपाली युवाको मनमा बसेको आक्रोश, हरेक आमाको आँसुमा लुकेको पीडा र नागरिकले महसुस गर्न नसकेको सुशासनको मागको उपज थियो । जुन कुरा देश हाँकिरहेका देश नेतृत्वले बुझ्न नसक्दा मानवीय सँगै ठुलो भौतिक क्षति बेहोर्नु प¥यो । जेनजीको आन्दोलन हाइज्याक गरेर उपद्रो मच्याउनेहरू मात्र होइन आन्दोलनलाई कम आँकेर कम तयारी गरी रगतको खोला बगाउन निर्देशन दिनेहरू पनि कारबाहीको भागीदार हुनु पर्छ । हामीले यो बुझ्नु पर्छ कि हिंसा र तोडफोडले हामीलाई हाम्रो गन्तव्यमा पु¥याउँदैन । व्यक्तिगत हमलाले केवल हाम्रो समाजलाई विभाजित गर्छ, घृणा र द्वेष फैलाउँछ । अन्ततः यस्ता कार्यले लोकतन्त्रलाई नै कमजोर बनाउँछ । आम जनताले पनि यो बुझ्नु पर्छ कि लोकतन्त्र भनेको केवल स्वतन्त्रताको अधिकार होइन, यो त जिम्मेवारीको कर्तव्य पनि हो । लोकतन्त्र जोगाउने हो भने सबैले आफ्नो जिम्मेवारी कुशलतापुर्वक शान्तिपूर्ण ढङ्गले वहन गर्नु पर्छ न कि हिंसात्मक बाटोबाट ।

आज यो देशको सडकमा बास्ना आउँछ, खरानीको, रगतको र आँसुको । यो बास्नाले हामी डराउनु हुँदैन । यो खरानीले हामीलाई कमजोर बनाउनु हुँदैन । यो खरानीमाथि हामीले नयाँ सपना रोप्न सक्नु पर्छ । हामीले यो सन्नाटालाई आशामा बदल्नु पर्छ । हाम्रा नवयुवा, जसको भौतिक शरीर गोलीले ढल्यो, तिनको सपना ढल्न दिनु हुँदैन । तिनका बलिदानले हामीलाई सम्झाइरहन्छ कि यो देश हाम्रो हो र यो देशलाई बनाउने अभिभारा हाम्रै हो ।

हाम्रा प्रहरी, जसको बर्दीमाथि मजाक बनाइयो, तिनले पनि फेरि एक पटक आफ्नो मनोबल उठाउनु पर्छ । तिनको बर्दी केवल कपडा होइन, यो देशको सम्मानको प्रतीक हो । यो सम्मान फिर्ता ल्याउन हामी सबै एकजुट हुन पर्छ । हामीले भ्रष्टाचारलाई जरैदेखि उखेल्नु पर्छ, तर यो काम आगजनी र लुटपाटले होइन विचार, कर्म, र एकताले सम्भव छ । हामीले हाम्रो नेतालाई बुझाउन सक्नु पर्छ कि सत्ता क्षणिक हुन्छ तर जनताको विश्वास अमर हुन्छ । तिनले यो बुझ्नु पर्छ कि यो देश ती सहिदको रगतले बनेको छ, ती आमाहरूको आँसुले सिञ्चित छ । तिनले यो बुझ्नु पर्छ कि यो देश केवल काठमाडौँको सडकमा सीमित छैन, यो हरेक गाउँ, हरेक बस्ती, हरेक मुटुमा बाँच्छ ।

जेनजीको आन्दोलनलाई केवल नवयुवाको आन्दोलनका रूपमा बुझ्ने भुल गर्नुहुन्न । यो हरेक नेपालीको मनको आन्दोलन हो । यो ती युवाको सपनाको आन्दोलन हो, जसले गोली खाएर पनि हार मानेनन् । यो ती आमाहरूको आँसुको आन्दोलन हो, जसले आफ्ना सन्तान गुमाएको पीडामा भन्दा पनि देश बन्ने आशा बोकेर बाँच्छन् । अब हिंसाले होइन, शान्ति र संवादले अगाडि बढ्नु पर्छ । व्यक्तिगत आक्रमण र तोडफोडलाई त्यागेर रचनात्मक बाटो रोज्नु पर्छ । हामीले यो सुन्दर देशलाई खरानीको गन्धबाट मुक्त गरेर फूलको सुगन्धले सजाउनु पर्छ । छरपस्ट भएर होइन एक ढिक्का भई देश पुनर्निर्माणमा जुट्नु पर्छ । 

हामीले यो पनि बुझ्नु पर्छ कि लोकतन्त्र केवल मतपेटिकामा खसेको मतकै आधार मात्रै होइन, हरेक नागरिकको विश्वास हो । यो हरेक युवाको सपना हो । यो हरेक आमाको आँसु हो । यो हरेक प्रहरीको बर्दीमा बसेको सम्मान हो । हामीले यो लोकतन्त्र जोगाउन हिंसाको होइन, एकताको बाटो रोज्नु पर्छ । यो तिनै सहिदको रगतको पुकार हो । 

आमाहरूको आँसुको कथा हो । युवाहरूको सपनाको आह्वान हो । करोडौँ नेपालीको आशाको प्रतिविम्ब हो । जसले यो देशमा संवैधानिक सर्वोच्चता चाहान्छ, देश समृद्ध बनेको हेर्ने धोको राख्छ । यो खरानीको गन्धले हामीलाई सधैँका लागि ढाक्न सक्दैन । यो सन्नाटाले पनि हामीलाई सधैँका लागि कमजोर बनाउन सक्दैन । हामी लड्ने छौँ तर फेरि उठ्ने छाँै अनि बनाउने छौँ एउटा यस्तो देश जहाँ हरेक सडकमा आशा होस्, हरेक मनमा उत्साह होस्, र हरेक मुटुमा लोकतन्त्रको धड्कन होस् । यो हाम्रो प्रतिज्ञा हो, यो हाम्रो साझा सङ्कल्प हो ।