राजन रावत
हुम्ला असोज ९ गते । सामाजिक विकास कार्यालयले सार्वजनिक बिदा र बिहान बेलुकाको समयमा पनि सेवा प्रदान गर्न सुरु गरेको छ । सेवाग्राहीहरुको चापलाई ध्यानमा राखी कार्यालयले अतिरिक्त समयमा पनि सेवा प्रदान गर्न सुरु गरेको हो ।
गत सोमबार दसैँको पहिलो दिन घटस्थापनाको बिदा भए पनि गाउँबाट आएर कार्यालयमा सेवा प्राप्त गर्न सफल भएको सर्केगार्ड गाउँपालिका– ८ का धर्मराज छत्यालले बताउनुभयो । उहाँले कोट माविको छात्रावास शैक्षिक भवन तथा खेल मैदान कार्यक्रमअन्तर्गत संरचना निर्माणका लागि सम्झौता गर्न कार्यालयमा आई पुगे लगत्तै सम्झौता गर्ने कार्य भएको र अब मङ्गलबार पेश्की निकासाका लागि लाग्ने बताउनुभयो ।
कार्यालयले सार्वजनिक बिदा तथा अतिरिक्त समयमा सेवा प्रवाह नगरेको भए एक दिन त्यसै बस्नुपर्ने र अर्को दिन काम गर्नुपर्ने अवस्था रहेकोमा अब त्यसो गर्न नपरेको उहाँले बताउनुभयो । मङ्गलबार कार्यालयसँग काम सकेर गाउँ फिर्ता भएको उहाँको भनाइ छ । कामको चापले गर्दा नै कार्यालयले यो व्यवस्था गरेको बताउँदै सामाजिक विकास कार्यालयका प्रमुख रणविजय सिंहले यसले गर्दा सेवाग्राहीलाई सहज भएको बताउनुभयो ।
यो वर्ष सेवा प्रवाह गर्ने कार्य धेरै भएकाले पनि यस्तो व्यवस्था गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । उक्त कार्यालयले विद्यालय र सार्वजनिक निर्मित संरचनाको योजना तथा कार्यक्रमको सम्झौता गर्ने, योजनाको पेश्की, रनिङ बिल र अन्तिम भुक्तानी दिनुपर्ने, विपद व्यवस्थापनका लागि शैक्षिक कार्यक्रमहरु, लक्षित वर्गका कार्यक्रमहरु, विद्यालयम आईसिटी ल्याब स्थापना र सञ्चालन भएका छन् । यसैगरी अन्य कार्यक्रमहरुमा छात्रवृद्धि कार्यक्रमअन्तर्गत छोरी बुहारी छात्रवृद्धि कार्यक्रम, उच्च शिक्षा दलित छात्रवृद्धि कार्यक्रम, उच्च शिक्षा अपाङ्गता छात्रवृद्धि कार्यक्रम, जिल्ला खेलकुद विकास समितिलाई सञ्चालन तथा व्यवस्थापन सहयोग कार्यक्रम, योजना माग तथा प्रस्ताव पेश गर्ने कार्य, धरौटी तथा सुरक्षण वापत राखिएको रकम फिर्ता गर्ने कार्यहरु गर्दै आएको छ ।
कार्यालयद्वारा सम्पादन गरिने क्रियाकलापहरुका लागि आवश्यक कागजातको विवरण पनि सार्वजनिक गरिएको छ । जसले गर्दा सेवाग्राहीलाई आवश्यक कागजात जुटाउन पनि पहिले नै जानकारी हुने गरेको छ । यी काम सम्पन्न गर्नका लागि कार्यालय प्रमुख र सम्बन्धित अन्य जनशक्तिलाई पनि कार्यालय मै तयारी अवस्थामा राख्ने गरिएको छ ।