प्रदीप पन्त
बागलुङ, असोज ९ गते । दसैँलाई लक्षित गरी नेपाल बैङ्क लिमिटेड बागलुङले खुद्रा नोट साट्न सुरु गरेको छ । सर्वसाधारणका लागि बैङ्कले सुकिला नोट साट्ने गरी व्यवस्था मिलाएको हो । विजयादशमीको दिन टीका लगाएपछि आफन्तलाई दक्षिणास्वरुप प्रदान गरिने खुद्रा नोट साट्नका लागि सर्वसाधारणको बैङ्कमा घुइँचो लागेको छ ।
सर्वसाधारणको ५, १०, २०, ५० र १०० रुपियाँका सुकिला खुद्रा नोट साट्न बैंकमा लाइन बसेका छन् । दसैँका लागि आवश्यक पर्ने खुद्रा नयाँ नोट साट्न बैङ्कमा आएको मूलपानीकी सुशीला शर्माले बताउनुभयो । सुकिला नोट साट्न गाउँ गाउँबाट सर्वसाधारणहरु बैङ्कमा आएका छन् । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपियाँसम्मका नयाँ सुकिला नोट साट्ने गरी व्यवस्था मिलाइएको छ ।
दसैँका लागि ४५ करोड रुपियाँका नयाँ र सुकिला नोट राखिएको र आवश्यक अनुसार अन्य रकम राष्ट्र बैङ्कबाट ल्याउने नेपाल बैङ्क लिमिटेड बागलुङका प्रमुख कृष्णबहादुर कुवँरले बताउनुभयो ।
“नयाँ नोट ५ र १० का वितरण गरिएको छ,” कुवँरले भन्नुभयो, “अन्य नोट भने सुकिला सर्वसाधारणका लागि साटिएको छ ।” पोखराबाट पहिलो दिन ३० करोडका सुकिला नोट बागलुङमा आएको थियो ।
जिल्लाभित्र रहेका अन्य बैङ्कलाई मात्र १२ करोड रुपियाँका सुकिला नोट नेपाल बैङ्कले प्रदान गरेको छ । अन्य बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट सर्वसाधारणका लागि नोट साट्न सक्ने गरी व्यवस्था मिलाएको नेपाल बैङ्क लिमिटेड बागलुङले जनाएको छ । नेपाल राष्ट्र बैङ्कले नोट पर्याप्त पठाएकोले दसैँका लागि सुकिला नयाँ नोटको अभाव बागलुङमा नहुने बैङ्कले जनाएको छ ।