गोकर्ण पौडेल
तुलसीपुर, असोज ९ गते । जेनजी आन्दोलनका क्रममा पूर्णरूपमा क्षति भएका कार्यालयलाई सेवा सञ्चालनका लागि सामग्री जुट्न थालेको छ । विभिन्न सङ्घ संस्थाहरुले सामग्री हस्तान्तरण सुरु गरेका छन् ।
कार्यालयमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भए पनि सेवालाई नियमितरूपमा सञ्चालनका लागि विभिन्न दाताहरुले सहयोग सुरु गरेका छन् । तुलसीपुर क्षेत्रमा रहेका कार्यालयहरूका लागि आवश्यक पर्ने सामग्री एकद्वार प्रणालीबाट हस्तान्तरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिकालाई ती सामग्री हस्तान्तरण गरिएको छ ।
ज्ञान ज्योति फाउण्डेशन प्रालिले ९ थान कम्प्यूटर, ४ थान प्रिन्टर,३ थान स्क्यानर, १० थान दराज, १२ थान कुर्सी, २ थान सोफा र २० थान प्लास्टिक कुर्सी फाउण्डेशनका संस्थापक अध्यक्ष टीकाबहादुर जिसी र निर्देशक सुरेन्द्र जिसीले तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्कालाई हस्तान्तरण गर्नुभएको हो । असोज ५ गते गोरखा माविले १ थान स्टील दराज,कम्प्युटर २ थान र प्रिन्टर १ थान उपलब्ध गराएको थियो ।
नगरप्रमुख टीकाराम खड्काले विभिन्न दाताहरूबाट प्राप्त भएका सामग्री यस क्षेत्रमा आन्दोलनका क्रममा क्षतिग्रस्त अवस्थामा पुगेका कार्यालयहरुको सेवा प्रवाह सञ्चालनका लागि हस्तान्तरण गरिने बताउनुभयो ।
तुलसीपुर क्षेत्रमा आन्दोलनका क्रममा तुलसीपुर उपमहानगरपालिका, आन्तरिक राजस्व कार्यालय, उच्च अदालत, इलाका प्रशासन कार्यालय, सिँचाइ डिभिजन कार्यालय, भू जलाधार कार्यालयमा आगजनी हुँदा क्षतिग्रस्त अवस्थामा पुगेका छन् ।