जनकपुरधाम, असोज ९ गते । धनुषाका जिल्लाका १८ पालिकाको खाता सञ्चालनमा नआउँदा आर्थिक कारोबार ठप्प भएको छ । यसबाट विशेष गरेर कर्मचारी समस्यामा परेका छन् ।
कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार जिल्लाका एक उपमहानगरपालिका, ११ नगरपालिका तथा छ गाउँपालिकाको खाता सञ्चालनमा नआएको हो । चालु आर्थिक वर्ष बितेको दुई महिना भएपनि स्थानीय तहको खाता नखुल्दा कर्मचारीले तलब सुविधादेखि विकास निमार्णको कार्यसमेत ठप्प भएको छ ।
साथै बजेट खर्चसम्बन्धी आर्थिक कारोबार नभएको सो कार्यालयले जनाएकोे छ । स्थानीय तहको खाता सञ्चालनका लागि नगरसभा वा गाउँसभा सम्पन्न गर्नुपर्ने, आर्थिक र विनियोजन विधेयक पारित गर्नुपर्ने, चालु वर्षको बजेट पारित गर्नुपर्ने तथा अघिल्लो वर्षको खर्चको हिसाब बुझाएरमात्र खाता मिलाउनुपर्नै कानुनी प्रावधान रहेको सो कार्यालयले जनाएको छ ।
धनुषाका अधिकांश स्थानीय पालिकाले ती प्रक्रिया पूरा नगरेकोले खाता बन्द रहेको छ । सो कार्यालयका अनुसारले १८ पालिकामध्ये १० पालिकाले चालु आर्थिक वर्ष २०८२-८३ को बजेटसमेत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायत सम्बन्धित निकायमा पेस नगरेको बताइएको छ । खाता सञ्चालनमा नआउँदा स्थानीय विकास निमार्णका योजना सञ्चालन गर्न समेत समस्या भएको बताइएको छ । रासस