काठमाडौँ, असोज ९ गते । साविक विजेता भारत युएईमा जारी एसिसी टी–२० एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार राति भएको खेलमा भारतले बङ्गलादेशलाइ ४१ रनले हरायो । भारतले सुपर चारमा लगातार दोस्रो जित निकालेको हो ।
एक खेल अगावै फाइनलमा स्थान बनाएको भारतले दुई खेलबाट चार अङ्क बनाएको छ । बङ्गलादेशको समान खेलबाट दुई अङ्क छ । जितका लागि भारतले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रनमा सकेटिएको थियो ।
बङ्गलादेशका लागि सैफ हसनले सर्वाधिक ६९ रन बनाउनुभयो । यस्तै परवेज हसन इटनले २१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङमा भारतका कुलदीप यादवले तीन विकेट लिनुभयो । यस्तै वरुण चक्रवर्ती र जसप्रित बुमराहले दुई दुई तथा तिलक वर्मा र अक्षर पटेलले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६८ रन बनाएको थियो । भारतका लागि अभिषेक शर्माले सर्वाधिक ७५ रन बनाउनुभयो ।
यस्तै हार्दिक पाण्डेयाले ३८, शुभमन गिलले २९ र अक्षर पटेलले अविजित १० रन जोड्नुभयो । बलिङमा बङ्गलादेशका लागि राशिद होसेनले दुई विकेट लिनुभयो । तान्जिम हसन साकिब, मुस्ताफिजुर रहमान, मोहम्मद सैफुद्दिनले एक एक विकेट लिनुभयो । एजेन्सी