साङ्घाई, असोज ९ गते । चीन भ्रमणमा रहेका अमेरिकी कंग्रेसको प्रतिनिधिमण्डल प्रमुखले बिहीबार प्रशान्तपारिका दुवै देशका कम्पनीलाई कठिनाइमा पारेको अमेरिका-चीन व्यापार द्वन्द्व समाधानका लागि अझ धेरै काम गर्नुपर्ने बताएका छन् ।
वासिङ्टन राज्यका डेमोक्रेट सांसद एडम स्मिथले पाँचदिने भ्रमणको अन्त्यमा भन्नुभयो, “यद्यपि दुई अर्थतन्त्रबीच ठूलो परिमाणमा व्यापार भइरहेको छ, अझै पनि समस्या समाधान गर्न धेरै काम गर्न बाँकी छ । चीन, अमेरिका र विश्वले केही मतभेद हल गरेर मिलेर काम गर्दा ठूलो लाभ लिन सक्छन् ।”
स्मिथसहित डेमोक्रेट सांसद रो खन्ना र क्रिसी हौलहान तथा रिपब्लिकन सांसद माइकल बाउमगार्टनरले साङ्घाईमा अमेरिकन चेम्बर अफ कमर्ससँगको भेटपछि पत्रकारसँग कुरा गर्नुभएको थियो । उहाँहरूलाई कार्यालय भवनको लबीमा स्टारबक्समा कफी खाँदै गरेको पनि देखिएको थियो ।
स्मिथले प्रतिनिधिमण्डलको भ्रमणको मुख्य उद्देश्य सरकारबीच सञ्चारका मार्ग खोल्नु रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वका दुई ठूला आणविक शक्तिबिच विशेष गरी मतभेद भएका विषयमा निरन्तर संवाद आवश्यक छ ।” प्रतिनिधिमण्डलले तीन दिनसम्मको बैठकमा बेइजिङमा प्रधानमन्त्री ली किआङ, विदेशमन्त्री वाङ यी, रक्षामन्त्री डोङ जुनसहितका शीर्ष नेतासँग भेटवार्ता गरेको थियो ।
यो भ्रमण सन् २०१९ पछि अमेरिकी कंग्रेसका सदस्यको पहिलो चीन भ्रमण हो । सन् २०२३ मा अमेरिकी सिनेटको प्रतिनिधिमण्डलले चीनको भ्रमण गरेको थियो । यसबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर अन्त्यमा दक्षिण कोरियामा हुने क्षेत्रीय शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने योजना सुनाउनुभएको छ र आगामी वर्षको सुरुआतमा चीन भ्रमण गर्ने बताउनुभएको छ । तर चिनियाँ पक्षले बैठकको पुष्टि गरेको छैन । रासस/एपी