• ९ असोज २०८२, बिहिबार

मालपोत कार्यालय जोगाउनेलाई सम्मान

blog

मालपोत कार्यालय जोगाउनेलाई सम्मान गर्दै मालपोत अधिकृत अजय झा । तस्बिरः सुधा देव

सुधा देव

भारदह (सप्तरी), असोज ९ गते । जेनजीको आन्दोलनमा मालपोत कार्यालय सप्तरीको संरचना जोगाउन योगदान गरेका व्यक्तिहरूलाई कार्यालयले बिहीबार एक कार्यक्रमको आयोजना गरी धन्यवादपत्र प्रदान गर्दै सम्मान गरेको छ ।

मालपोत कार्यालय सप्तरीले बडादशैंको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा जेनजी आन्दोलनमा कार्यालयलाई क्षति हुनबाट जोगाउन योगदान दिने व्यक्तिलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा उनीहरूलाई धन्यवादपत्रसहित सम्मान गरेको हो ।

जेनजी आन्दोलनको क्रममा सप्तरीवासीको भूमिसम्बन्धी महत्वपूर्ण कागजात तथा अभिलेख र भौतिक सम्पत्ति क्षति हुनबाट जोगाउन गरेको योगदानको कदर गर्दै लेखापढी कानुन व्यवसायी एकाइ अध्यक्ष श्रीलाल यादव, मेमो खबर अनलाइनका सम्पादक चन्दनकुमार यादव, मालपोत कार्यालयको मुद्दाफाँटमा कार्यरत खरिदार बैंजु देव, भागवत यादव, कार्यालयका कर्मचारी पवनकुमार मेहता, विनोद यादवलाई मालपोत अधिकृत अजय झाले धन्यवादपत्र प्रदान गरी सम्मान गर्नुभयो ।

सोही अवसरमा लेखापढी कानुन व्यवसायी सङ्घका केन्द्रीय सदस्य जयनारायण देवले जिल्लाको जनताको महत्वपूर्ण कागजपत्र राख्ने ठाउँलाई जोगाउन गरेको  योगदान सराहनीय रहेको बताउनुभयो । मालपोत अधिकृत अजय झाको अध्यक्षतामा आयोजित कार्यक्रममा मालपोत कार्यालयका कर्मचारी तथा लेखापढी व्यवसायीको उपस्थिति थियो ।