प्रेमराज सिम्खडा
कालीकोट, असोज ९ गते । कर्णाली प्रदेश प्रहरी अस्पताल वीरेन्द्रनगर सुर्खेत र नेपाल प्रहरी श्रीमती सङ्घ कर्णाली प्रदेशले कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण गरेको छ ।
अस्पताल र श्रीमती सङ्घका साथै प्रदेश प्रहरी कार्यालय सुर्खेतको संयुक्त लगानीमा कारागार कार्यालय सुर्खेतमा रहेका कैदीबन्दीलाई शिविरको आयोजनामा स्वास्थ्य परीक्षण गरिएको हो ।
कैदीबन्दीको स्वास्थ्य परीक्षण तथा उपचारमा कर्णाली प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राध्यापक. प्रहरी नायब उपरीक्षण डा. श्यामकृष्ण लौडारी, प्राध्यापक प्रहरी निरीक्षक डा. विविक पन्थी साथै अन्य अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी प्रहरी कर्मचारीबाट कारागार कार्यालय सुर्खेतमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार स्वास्थ्य शिबिरमा १८५ जना पुरुषण र २७ जना महिना एकजना आश्रित बालक एकजना गरी २१३ जनाको निःशुल्क स्वास्थ्य चेकजाँच, औषधी वितरण तथा स्वास्थ्य परामर्श गरिएको छ ।
शिबिरमा कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठ, नेपाल प्रहरी श्रीमती सङ्घ कर्णाली प्रदेश अध्यक्ष सुमन श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाही लगायतका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो ।
कैदीबन्दीको स्वास्थ्य परीक्षणले उनीहरुको स्वास्थ्य समस्या समाधान हुनुका साथै मनमा रहेको त्रास पनि कम हुने विश्वास गरिएको छ ।