अर्जुन काफ्ले
स्याङ्जा, असोज ९ गते । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते कारागारबाट फरार भएका दुई कैदीलाई स्याङ्जा प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्की कारागार, पोखराबाट फरार भएका पुतलीबजार नगरपालिका –९ कोल्माका २६ वर्षीय जबरजस्ती करणी मुद्दाका कैदी अभिषेक नेपालीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको हो ।
नेपाली पुतलीबजार नगरपालिका –१ कालाखोलाबाट पक्राउ परेको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।
यस्तै, केन्द्रीय कारागार जगन्नाथदेवल, काठमाडौँबाट फरार पुतलीबजार नगरपालिका –५ पौवेगौंडे गौरीखोलाकी ६७ वर्षीय नुनुमाया कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
कर्तव्य ज्यान मुद्दाकी कैदी कार्कीलाई आफ्नै घरबाटै प्रहरीले नियन्त्रणमा लिएको चौधारीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कारागारबाट फरार भएका कैदीलाई पक्राउ गर्ने क्रममा अहिलेसम्म चार जनालाई पक्राउ गरेको छ ।