• ९ असोज २०८२, बिहिबार

सङ्घीयता सबलीकरणका लागि सङ्कल्प प्रस्ताव

blog

मधेश प्रदेश सभा सदस्यद्वारा सङ्कल्प प्रस्ताव पेस ।

जनकपुरधाम समाचारदाता

जनकपुरधाम, असोज ९ गते  । मधेश प्रदेश सभा सदस्यले सङ्घीयता सबलीकरण र भ्रष्टाचारविरुद्धको आन्दोलनमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै चारबुँदे सङ्कल्प प्रस्ताव पेस गरेका छन् ।

बुधबार प्रदेश सांसद रामअशिष यादव, कुमारकान्त झा, हरिनारायण महतो, सुनिता यादव, रमिता प्रधान, चन्दन सिंह, कनिश पटेल, उर्मिलादेवी सिंहलगायतका हस्ताक्षरयुक्त प्रस्ताव सभामुख रामचन्द्र मण्डलसमक्ष पेस गरिएको हो ।

चारबुँदे सङ्कल्प प्रस्तावमा नेपाली जनताको त्याग र बलिदानको प्रतिफलस्वरूप प्राप्त सङ्घीय संरचनाप्रति जनप्रतिनिधि एकताबद्ध हुने, सङ्घीय संरचनालाई कमजोर पार्ने प्रयासको विरोध गर्दै संविधानमा स्थापित अधिकारको रक्षा गर्ने, सङ्घीयतालाई सेवा प्रवाह, समावेशी र स्थानीय सशक्तीकरणको माध्यमका रूपमा सबल बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय र सहयोगको वातावरण निर्माण गर्ने र भ्रष्टाचारविरुद्धको आन्दोलनले देखाएको चेतना र युवाको सव्रिmयतालाई सकारात्मक रूपमा ग्रहण गर्दै युवाको आवाजलाई नीति निर्माण, बजेट निर्माण र विकास योजनामा समावेश गर्न प्रदेश सरकारलाई निर्देशन दिने रहेको छ ।

सङ्कल्प प्रस्तावमा भदौ २३ गते भ्रष्टाचारविरुद्ध युवाले सञ्चालन गरेको आन्दोलनका व्रmममा ७४ जनाले ज्यान गुमाएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । साथै सयौँ घाइते भएकाको उपचारमा सरकारले ध्यान दिनुपर्ने माग गरिएको छ ।

सांसदले आन्दोलनपछि सङ्घीय संरचनाविरुद्ध प्रतिगामी शक्तिद्वारा नकारात्मक प्रचार भइरहेको उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै प्रयास स्वीकार्य नहुने प्रस्तावमा उल्लेख गरेका छन् । संविधान ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, मधेश आन्दोलन र बलिदानको प्रतिफल भएको भन्दै सङ्घीयताको संरक्षण र सबलीकरण नै सबैको साझा दायित्व रहेकोमा जोड दिएका छन् ।