• ९ असोज २०८२, बिहिबार

बाँकेमा चाडपर्व विशेष सुरक्षा योजना : ११ सय प्रहरी परिचालन

blog

जिल्ला प्रहरी कार्यालय बाँकेको प्रशासनिक भवन । तस्बिर : सिराज खान

सिराज खान 
नेपालगन्ज, असोज ९ गते ।
दसैँ र तिहारजस्ता ठुला चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय बाँकेले विशेष सुरक्षा योजना तयार गरेर लागू गरेको छ ।

सो योजना कार्यान्वयन गर्न जिल्लामा ११ सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताउनुभयो ।

उहाँले दसैँ र तिहारका बेला हुन सक्ने चोरीका घटना हुन नदिन नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका ठाउँमा मोवाइल र पैदल गस्तीलाई तीव्र पारिएको बताउनुभयो ।

‘‘सर्वसाधारणलाई सुरक्षित रुपमा चाडपर्व मनाउने वातावरण बनाउन र सुरक्षित छौँ भन्ने अनुभूति गराउन मोबाइल र पैदल गस्ती बढाइएको छ,’’ प्रहरी नायब उपरीक्षक पातलीले भन्नुभयो ।

आवश्यकता अनुसार ड्रोन क्यामेराबाट पनि निरन्तर निगरानी सुरु गरिएको जनाउँदै उहाँले भारतबाट आएका नेपालीलाई सहज र सुरक्षित रुपमा गन्तव्यसम्म पुग्ने वातावरण मिलाउन नाका र बसपार्कहरुमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको बताउनुभयो ।

आफ्नो चाडपर्व मनाउँदा अर्कालाई असर पर्ने कार्य नगर्न आग्रह गर्दै प्रहरीले होहल्ला गर्ने तथा शान्ति सुरक्षामा खलल पुर्‍याउनेहरुविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

सुरक्षा योजनाअन्तर्गत सवारी साधनको चेकजाँच तथा यातायातको निगरानी र अनुगमन सुरु गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा चेकजाँच शुरु गरेको जनाउँदै प्रहरी नायब उपरीक्षक पातलीले तीव्र गतिमा सवारी साधन चलाएको लगायत ट्राफिक नियम विपरीत कार्य गरेको पाइएमा चालकलाई ठाउँका ठाउँ कारबाही गर्ने बताउनुभयो ।

चाडपर्वमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने र छिटो पुग्ने नाममा तीव्र गतिमा सवारी साधन चलाउने कार्य बढी हुने गरेको विगतको अध्ययनले देखाएको जनाउँदै उहाँले विभिन्न सडकमा जनपद प्रहरीसँगै ट्राफिक प्रहरी पनि परिचालन गरिएको बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले सुरक्षा योजनाअन्तर्गत बाँकेमा ७५ जना ट्राफिक प्रहरी परिचालन गरिएको जनाउँदै लागू पदार्थ सेवन, मादक पदार्थ सेवन र क्षमताभन्दा बढी यात्रु बसेको पाइएमा कारबाही गरिने बताउनुभयो ।

‘‘एक जना चालकले गाडी चलाउँदा दुर्घटनाको डर हुने भएकाले लामो दूरीमा चल्ने सवारी साधनमा दुई जना चालक भए नभएको पनि जाँच भइरहेको छ,’’ उहाँले भन्नुभयो ।