• ९ असोज २०८२, बिहिबार

जनदबाबपछि सुरु भयो मर्मत

blog

मर्मतसम्भार सुरु गरिएको नेपालगन्ज–कोहलपुर सडकखण्ड । तस्बिर : सिराज खान

नेपालगन्ज समाचारदाता 

नेपालगन्ज, असोज ९ गते । नेपालगन्ज–कोहलपुर सडकखण्डको मर्मतसम्भारको काम अहिले फेरि सुरु गरिएको छ । जनप्रतिनिधि र स्थानीयको धर्नापछि चार महिनाअघि मर्मतसम्भार सुरु गरेको जस्तो देखाएर रोकिएको मर्मतसम्भारको कार्य अहिले फेरि यात्रु, स्थानीयवासी र जनप्रतिनिधिले पुनः दबाब दिएपछि सुरु गरिएको हो । जेनजीको आन्दोलनपछि सिर्जना भएको नयाँ अवस्थाका कारण सडक मर्मतसम्भारको कामलाई सुचारु गरिएको अनुमान गरिएको छ । 

कोहलपुर–नेपालगन्ज सडकखण्डको राँझा–कोहलपुर सडकखण्डमा ठाउँ ठाउँमा सडक भत्किएर खाल्टाखुल्टी भएपछि सवारीसाधन आवागमनमा समस्या हुँदै आएको थियो । सोही सडकका कारण केही दुर्घटनासमेत भएका थिए । सडक डिभिजन कार्यालय नेपालगन्जका अनुसार उक्त सडक मर्मतसम्भारको जिम्मा माँ त्रिपुरासुन्दरी पञ्चकोशी नाकदेव जेभी नामक निर्माण कम्पनीले एक करोड २४ लाख रुपियाँमा लिएको थियो । २०८१ साल कात्तिक १४ गते भएको सम्झौता अनुसार कम्पनीले २०८२ वैशाख १५ गतेभित्र निर्माण सक्नुपर्ने प्रावधान थियो । 

सम्झौता सकिएको पाँच महिना बिते पनि सडक मर्मतसम्भार गरिएको थिएन । सम्झौता अनुसार समयमै काम सम्पन्न नभएपछि कोहलपुरका जनप्रतिनिधि र स्थानीयले सडक मर्मतसम्भारको माग गर्दै आएका थिए । यातायात व्यवसायी मोहन श्रेष्ठले सडकको जीर्ण अवस्थाका कारण दैनिक सयौँ सवारीसाधनमा क्षति पुग्ने, दुर्घटनाको सम्भावना बढ्ने र यात्रुलाई कष्टकर यात्रा गर्नुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो । 

उहाँले चर्को दबाबपछि सुरु गरिएको काम चार महिनासम्म रोकिँदा स्थानीयवासी र सवारीसाधन आवागमनमा कष्टकर बनेको बताउनुभयो । अहिले पुनः काम सुरु भएपछि सुधारको आशा जागेको स्थानीयको भनाइ छ । कोहलपुर पिपरीका स्थानीय नरेश शर्माले अहिले पुनः ग्राभेल, खाल्टाखुल्टी पुरिने र कालोपत्रे गर्ने काम सुरु गरिएकाले छिट्टै समस्या समाधान हुने आशा बढेको बताउनुभयो । 

प्राविधिकका अनुसार आगामी केही महिनाभित्र सडकको अवस्था सहज हुने अपेक्षा गरिएको छ । यसले सो सडक प्रयोग गर्ने सयौँ सवारीचालकलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ ।