• ९ असोज २०८२, बिहिबार

गाउँघरमा दसैँको चहलपहल, रोजगारीमा गएका धमाधम घर फर्किंदै

blog

आफ्ना सामान बोकेर दसैँ मनाउन गाउँ फर्किएका हुम्लावासी । तस्बिर : मोहनसिंह बुढा

चङ्खेली समाचारदाता

हुम्ला, असोज ९ गते । रोजगारी तथा अध्ययनका लागि भारतलगायत विभिन्न सहर गएका मानिस दसैँ, तिहार मनाउन घर फर्किन थालेका छन् । गाउँघरमा रोजगार नभएर सहर तथा परदेश गएका र अध्ययनका लागि सहर गएकाहरू यतिखेर धमाधम घर फर्किन थालेका छन् । सहरबाट फर्केकाका कारण गाउँघरमा चहलपहल बढेको छ । 

दसैँ नजिकिँदै गर्दा नेपाल–भारत सीमा क्षेत्र जमुनाहबाट दसैँ मनाउन घर फर्किने परदेशीको ताँती छ भने यता गाउँघरमासमेत मानिसको चहलपहल बढ्न थालेको छ । दसैँमा घर नआए देवीदेवताले समेत दोष लगाउने उहाँहरूको विश्वासमा समेत हरेक दसैँमा घर अनिवार्य रूपमा आउने गरेको स्थानीय चामुण्डा रोकायाले बताउनुभयो । आफू तीन वर्षअगाडिसम्म पोखरामै बस्ने गरेको भए पनि गत वर्ष देवताले आफूलगायत घरपरिवारलाई पुख्र्यौली घर छोडेको निहुँमा दुःख दिएको भन्दै अब सबै दसैँमा अनिवार्य आउने गरेको जनाउनुभयो । 

यो वर्ष जिल्लामा सडक पुगेपछि दसैँमा घर आउनेको सङ्ख्या पहिलेको भन्दा झन् बढ्न थालेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब निरीक्षक शङ्कर पोख्रेलले बताउनुभयो । कबाडी प्रहरी चौकीका अनुसार यस वर्षको विगतको दसैँभन्दा हुम्ला आउने सवारीसाधनको सङ्ख्यामा वृद्धि भएको उहाँले बताउनुभयो । गत वर्षहरूमा भन्दा केही मात्रामा मात्रै आउने गरेको भए पनि अहिले सडक आएपछि दसैँको फूलपातिअगाडि नै गाउँ पुगिसकेको बताउनुभयो ।

“दसैँ मनाउन घर फर्किएको छु,” सर्केगाड गाउँपालिका–६ का कविराम सार्कीले भन्नुभयो, “दसैँ, तिहार मनाएर फेरि भारतमै फर्किन्छु ।” उहाँ भारतको हिमाचल प्रदेशको मनिकरणमा स्याउ टिप्ने काम गर्नुहुन्छ । 

दसैँ बिदामा नियमित सेवा दिने

हुम्ला समाचारदाताका अनुसार दसैँमा पनि स्वास्थ्य चौकीले आफ्नो सेवा नियमित गर्ने भएका छन् । दसैँमा बिदा भए पनि बिरामीको मर्कालाई ध्यानमा राखेर जिल्लाभरका स्वास्थ्य चौकीले आफ्नो सेवा नियमित गर्न लागेका हुन् । 

जिल्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिकाले जिल्ला अस्पतालसहित १२ वटा स्वास्थ्य संस्था रहेकोमा चार वटा स्वास्थ्य चौकीमा दसैँ बिदामा पनि आफ्नो सेवा नियमित गर्ने गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बताउनुभयो । उहाँले असोज १३ गते फूलपातीदेखि असोज १८  गते द्वादशीसम्म सार्वजनिक बिदा भए पनि आफ्ना स्वास्थ्य संस्थाले नियमित सेवा दिने जानकारी दिनुभयो । खार्पुनाथ गाउँपालिकाले पनि चार वटा स्वास्थ्य चौकीबाट दसैँ बिदामा नियमित सेवा दिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिभक्त शाहीले बताउनुभयो । त्यसै गरी जिल्लाका अन्य गाउँपालिका नाम्खा, सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकाले पनि आफ्ना गाउँपालिकाभित्रका सबै स्वास्थ्य चौकीले दसैँ बिदामा पनि सेवा नियमित गर्ने जनाएका छन् ।