• ९ असोज २०८२, बिहिबार

बालबालिकाको रोजाइमा तोली मावि

blog

तोलीदेवलडाँडा मावि तोली बाजुरा । तस्बिर : शेरबहादुर सार्की

बाजुरा समाचारदाता

बाजुरा, असोज ९ गते । बाजुराका अधिकांश बालबालिकाको रोजाइमा तोली स्कुल परेको छ । त्रिवेणी नगरपालिका–४, तोलीमा तोलीदेवलडाँडा माध्यमिक विद्यालयले पछिल्लो समय यहाँको शैक्षिक अवस्थालाई निकै परिवर्तन गर्दै आएपछि विद्यार्थीको आकर्षण बढेको हो । विद्यालयले भौतिक तथा शैक्षिक गुणस्तरलाई वृद्धि विकास गर्दै आएपछि अहिले यहाँका अन्य धेरै गाउँबस्तीबाट बालबालिका तोलीदेवलडाँडामा पढ्न आउने गरेको विद्यालयले जनाएको छ ।

विद्यालयले विद्यार्थीको पढाइमा सुधार ल्याउनका लागि पढाएको विषयमा प्रत्येक हप्ता परीक्षा लिने गरेको छ । त्यो परीक्षामा पास भए मात्र अर्को पाठ पढाउने र फेल भए फेरि त्यसैलाई दोहो¥याउने गरेको तोलीदेवलडाँडा माविका प्रधानाध्यापक विष्णुप्रसाद ओझाले बताउनुभयो । त्यो परीक्षाले यहाँका बालबालिकाको पढाइमा निकै परिवर्तन भएको बताउँदै उहाँले अहिले विद्यालयले एक महिनाको चार पटक परीक्षा लिने गरेपछि यहाँका बालबालिका पनि एक हप्ताभरि पढेको कुरालाई निकै ध्यान राख्ने गरेको बताउनुभयो ।

त्यति मात्र होइन विद्यालयले विद्यार्थीको घरमा गएर पनि अभिभावकसँग पढाइका बारेमा छलफल गर्ने गरेको छ । एक हप्तामा विद्यार्थीले कति सिके विषयमा अभिभावकसँग छलफल गरी विद्यार्थीका लागि पाठयोजना तयार गर्ने गरेको उहाँले जानकारी दिनुभयो । पहिला तोली माविमा झन्डै ३५ प्रतिशत बालबालिका एसइईमा मात्र उत्तीर्ण हुने गर्थे भने अहिले ९५ प्रतिशत पास भएका विद्यालयले जनाएको छ । पहिला यहाँ खासै राम्रो पढाइ तथा व्यवस्थापन राम्रो थिएन । अहिले भने यो विद्यालयको पढाइ तथा अन्य बालबालिकालाई विद्यालयमा राम्रो व्यवस्थापन गरेको देखेर अहिले धेरै ठाउँबाट पढ्न आउने गरेको तोली माविबाट एसइईमा पास भएका छात्रा एलिजा साउदले बताउनुभयो ।

पालिकामा धेरै विद्यालय छन् तर तोली माविको जस्तो व्यवस्थापन अन्य विद्यालयमा नभएकाले त्यहाँका बालबालिका पनि अहिले तोली देवलडाँडा माध्यमिक विद्यालयमा पढ्न आउने गरेको छात्रा साउदले बताउनुभयो । विद्यालयको भौतिक पूर्वाधार पनि बालमैत्री छ । शौचालय खानेपानीलगायतका भौतिक पूर्वाधार बालमैत्री छन् । पहिला यहाँ छ सय जति विद्यार्थी थिए । अहिले त्यो सङ्ख्यामा पढेर ८५३ जना पुगेको प्रधानाध्यापक ओझाले बताउनुभयो । पढाइ तथा भौतिक सुविधामा वृद्धि गरेपछि विद्यार्थी सङ्ख्यामा वृद्धि भएको उहाँले बताउनुभयो ।