• ९ असोज २०८२, बिहिबार

सात वर्षसम्म पनि प्रयोगमा आएन भीरकोट बसपार्क

blog

सात वर्षसम्म प्रयोगमा नआएर अलपत्र परेको भीरकोट बसपार्क । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, असोज ९ गते ।
भीरकोट नगरपालिकाले वडा नं –१ सिसौँघारीमा सात वर्ष पहिला सम्झौता गरेर बनाएको बसपार्क अलपत्र परेको छ ।

बढ्दो बजारीकरणसँगै बजारलाई व्यवस्थित गर्न बसपार्कको आवश्यकता रहेको भन्दै नगरपालिकाले स्थानीयसँग १५ रोपनी जग्गा भाडाँमा लिएर बसपार्क निर्माण गरेपनि अझैसम्म प्रयोगमा आउन नसकेको हो ।  

२०७५ सालमा साउनमा वीरबहादुर थापा, क्षेत्र बहादुर थापा, लालबहादुर थापा, इन्द्रबहादुर थापा, ज्ञानेन्द्रकुमारी केसीसँग कित्ता नं २२१९, २२२०, २२१२, २२२२, १४३६, १४३७, १४३३, १४३५, ८२६, १४३८, १४३४ का जग्गाहरु वार्षिक १७ हजार ४५ रुपियाँमा नगरपालिकाले तिर्ने गरी बसपार्क प्रयोजनका लागि १० वर्षे सम्झौता गरेको थियो ।

नगरपालिकाले भाडा तिर्ने, अस्थायी संरचना बनाउन पाउने, पार्किङ शुल्कमा जग्गाधनीले दाबी नगर्ने जस्ता सम्झौता भए पनि हालसम्म कागजमै सीमित भएको छ ।

बसपार्कको तारबार, शौचालय तथा सम्माउन पालिकाले ११ लाख २० हजार रुपियाँ खर्च भएको थियो भने लाखौँ खर्च गरेर निर्माण गरेको बसपार्क छिर्नका लागि बाटो भने निर्माण भने गरिएको छैन ।

हेबी ८० वटा र १३० वटा लाईट सवारी साधन पार्किङ गर्न सक्ने गरेर निर्माण गरेपनि अझैसम्म बसपार्कमा एउटा वटा पनि सवारीसाधन पार्किङ हुन नसकेको हो ।

यहाँ स्काभेटर, लोडर, डोजर राख्न प्रतिघण्टा ४० रुपियाँ, प्रतिदिन १५० र महिनाभरी चार हजार नगरपालिकाले तोकेको थियो भने बस, ट्रक, टिप्पर, ट्याक्टर राख्न प्रतिघण्टा ३० रुपियाँ, प्रतिदिन १२० र महिनामा तीन हजार तोेकेको थियो । 

यस्तै जिप, कार, भ्यान, टेम्पो राख्न प्रतिघण्टा २०, प्रतिदिन १०० र महिनाका लागि दुई हजार रुपियाँ दरभाउ कायम गरेको थियो ।

बसपार्कका लागि नगरपालिकाले अहिलेसम्म १४ लाख ३१ हजार ७८० रुपियाँ जग्गाधनीलाई भुक्तानी गरेको छ भने समग्रमा २५ लाख ५० हजार  खर्च भएको बसर्पामा अहिलेसम्म राजस्व नउठेको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो ।

साघुरो सडकको दायाँबायाँ पार्किङ गर्दा दुर्घटनाको जोखिम, बजार कुरुप हुने, बजार व्यवस्थित बनाउने उदेश्यले बसपार्क निर्माण गरिए पनि प्रयोगमा नआउदाँ उद्देश्यको औचित्य सकिएको हो ।

नगरपालिकाको मुख्य बजार बयरघारीबाट दुई किमी दूरीमा रहेको बसपार्क सहज पहुँच नहुदाँ सञ्चालनमा नआएको नगर प्रमुख कर्माचार्यले स्वीकार गर्नुभयो । दैनिक आवतजावत गर्ने मानिसले सहज सुविधा नपाउने भएकाले सो बसपार्क प्रयोगमा आउन नसकेको हो ।