• ९ असोज २०८२, बिहिबार

चाडपर्वमा घर नछाड्न प्रहरीको अनुरोध

blog

मोरङ समाचारदाता

विराटनगर, असोज ९ गते । दसैँ, तिहार र छठलगायतका पर्व मनाउँदा लामो समयसम्म घरका सबै सदस्यले घर छाडेर नहिँड्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ । घरमा हुन सक्ने चोरीडकैतीलाई ध्यानमा राखी घरका सदस्य आलोपालो गरेर घरबाहिर जान प्रहरीले अनुरोध गरेको हो । 

कुनै कारणले लामो समयसम्म घरका सबै सदस्य घरबाहिर जानु परेमा घरको सुरक्षा प्रबन्ध मिलाएर, छिमेकी वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराएर मात्र जान कोशी प्रदेश प्रहरी कार्यालयले सर्वसाधारणलाई अनुरोध गरेको छ । चाडपपर्वलक्षित नेपाल प्रहरीको सुरक्षा रणनीतिका बारेमा बुधबार जानकारी गराउँदै कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दीपक पोखरेलले सो कुराको अनुरोध गर्नुभएको हो । 

चाडपर्वको समयमा रमाइलो गर्न र चाडपर्व मनाउन लामो समयसम्म घरका सबै सदस्य घरबाहिर रहँदा चोरीडकैतीको जोखिम बढी हुने भएकाले यसतर्फ सचेत रहन आग्रह गरिएको छ । अहिले प्रविधिको प्रयोगमार्फत पनि सुरक्षा प्रबन्ध मिलाउन सकिने कुराको स्मरण गराउँदै थोरै पैसामा पनि घरमा सिसिटिभी जडान गरेर मोबाइलमार्फत जुनसुकै स्थानबाट पनि घरको हेरचार गर्न सकिने भएकाले यसतर्फ पनि ध्यान दिन उहाँले अनुरोध गर्नुभएको छ । जेनजी समूहको आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दी पनि यस पटक थप सुरक्षाको चुनौती भएको स्मरण गराउँदै फरार कैदीबन्दीको खोजी प्रहरीले गरिरहेको उहाँले बताउनुभयो । 

आन्दोलनका व्रmममा तोडफोड र आगजनीका कारण विस्थापित भएका नेपाल प्रहरीका कार्यालय पुनस्र्थापित भइरहेको उहाँले जानकारी गराउनुभयो । कोशी प्रदेशमा कुल १७१ वटा प्रहरी बिट विस्थापित भएका मध्ये बुधबारसम्ममा ९२ वटा पुनस्र्थापित भइसकेका र ७९ वटा बिट पुनस्र्थापना हुन बाँकी रहेको बताइएको छ । 

कोशी प्रदेशको सुनसरीमा सबैभन्दा बढी ७० वटा प्रहरी बिट विस्थापित भएकामध्ये अहिलेसम्ममा ५३ वटा बिट पुनस्र्थापित भइसकेका छन् । त्यस्तै झापामा ४८ वटा, खोटाङमा १६ वटा र मोरङमा पाँच वटा प्रहरीका बिट विस्थापित भएकामध्ये झापामा छ वटा, खोटाङ र मोरङमा सबै विस्थापित प्रहरी बिट पुनः सञ्चालनमा ल्याइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।