नेपाल विश्वकै पर्यटकका निम्ति आकर्षक गन्तव्य मानिन्छ । संसारकै सबैभन्दा उच्च शिखर सगरमाथासँगै अधिकांश उच्च हिमाल नेपालमै छन् । पूर्वदेखि पश्चिमसम्मका हिमशृङ्खला र त्यसमुनिको पदयात्राका निम्ति अब्बल भूबनावटले साहसिक र मनमोहक पर्वतीय पदयात्रा नेपालमा मात्र सम्भव छ । शान्तिका अग्रदूत गौतम बुद्धका जन्मस्थल लुम्बिनीको आकर्षण विश्वभर छ । मन्दिरै मन्दिरको सहर काठमाडौँ, सांस्कृतिक र ऐतिहासिक सम्पदा, स्वयम्भूनाथ र बौद्धनाथ आदिले पर्यटक लोभिन्छन् तर पर्यटनको उपयुक्त बजारीकरण हुन सकेको छैन । बेला बेलामा अवरोध पनि आइरहन्छ । भदौ २३ र २४ गते नेपालमा भएको भ्रष्टाचारविरोधी नवपुस्ता अर्थात् जेनजी आन्दोलनले पर्यटन बजारमा प्रतिकूल प्रभाव पा¥यो । नेपाल आउने धेरै पर्यटकले बुकिङ रद्द गरे । यसको दर ३७ प्रतिशतसम्म पुगेको देखियो । कतिपय पर्यटकीय संरचनामा आगजनी र तोडफोड संसारले देख्यो । दुष्प्रचार पनि हुन पुग्यो । सरकार मात्र होइन, शासकीय संस्कार परिवर्तन गर्न सक्ने यति ठुलो आन्दोलनमा कुनै पनि पर्यटक हताहत हुनु परेन । पर्यटक सुरक्षित रहे । यो सकारात्मक पक्ष हो । यसलाई विदेशी पर्यटक स्वयम्ले उच्च मूल्याङ्कन गर्न थालेका छन् । उनीहरूबाटै नेपाल सुरक्षित रहेको सञ्चार हुन थालेको छ ।
यतिबेला नेपालमा रहेका विदेशी पर्यटक स्वयम्ले नेपाल पर्यटनका निम्ति सुरक्षित गन्तव्य रहेको सन्देश प्रवाह गरिरहेका छन् । ‘नाउ नेपाल’ अर्थात् म अहिले नेपालमै छु भन्ने प्ले कार्ड बोकेर हिँडेको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा छन् । यसले नेपाल पर्यटकका निम्ति सुरक्षित रहेको सकारात्मक सन्देश विश्वभर प्रवाह भइरहेको छ । लाखौँ पर्यटक भित्रिने मुख्य सिजन हो यो । जेनजी आन्दोलनबाट विश्वभरका पर्यटक नेपाल आउन दुविधा हुनु स्वाभाविक हो । यो परिवेशले प्रभावित नेपालको पर्यटन क्षेत्रलाई ब्युउँताउन विदेशी पर्यटक नै नेपाल प्रवर्धनमा जुट्नु राम्रो पक्ष हो । यसलाई नेपालका पर्यटक क्षेत्रका सम्बद्ध सङ्घ संस्थाले सहयोग गर्नु पर्छ । प्रदर्शनका क्रममा केही पर्यटकीय संरचनामा तोडफोड र आगजनी भए र तिनले नेपालको पर्यटकीय छविमा नकारात्मक प्रभाव पनि पा¥यो । त्यसो नहुनुपर्ने थियो । भौतिक संरचनामा तोडफोड र आगजनी भए पनि कुनै पनि पर्यटकलाई क्षति भएन, पर्यटकको जनधन असुरक्षित भएनन् । कुटपिट र लुटपाटका दुष्कार्य पर्यटकमाथि हुन पाएनन्, भएनन् । यो परिवेशलाई नेपालमा रहेका विदेशी पर्यटकले नजिकबाट अनुभव गरे । नेपाल भ्रमणमा रहेका विदेशी नागरिकले विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल भ्रमण सुरक्षित रहेको भन्ने सन्देश उपयोगी छ । यो सन्देश प्रवाहले आशा बढाएको छ । पर्यटकीय स्वयम् भोगाइलाई सामाजिक सञ्जालमा प्रतिविम्बित गरिदिनु ठुलो सहयोग हो । यस्ता कार्यलाई प्रवर्धन गरिनु पर्छ । यस्ता सुकार्य नेपालको पर्यटकीय प्रवर्धनका पुँजी पनि हुन् । विगतमा सामान्य पहिरो खस्दासमेत नेपालको पर्यटन प्रभावित हुने गरेको थियो । जेनजीका नाममा कतिपय घुसपैठबाट भएको ध्वंसात्मक गतिविधिले अब्बल पर्यटीय संरचनामा क्षति हुनु दुःखद घटना मात्र होइन, पर्यटन प्रवर्धनका निम्ति कठिन चुनौती पनि हो ।
कृषि, जलस्रोत र पर्यटन नेपाली अर्थतन्त्रका धरोहर हुन् । नेपालको कृषि उपजलाई अर्गानिक दिशाउन्मुख गर्दै पर्यटकलाई नेपालमै उत्पादित खाद्यवस्तुको बजारीकरण गरिनु पर्छ । जलसम्पदालाई पर्यटकीय बजार विस्तारका आयाम बनाउँदै रोजगारी प्रवर्धनका महìवपूर्ण माध्यम बनाउन सकिने छ । अहिलेको जटिल अवस्थालाई नेपाल पर्यटन बोर्डले सहजीकरण गर्दै दिगो पर्यटन विकासका आयाम विस्तार गर्नु पर्छ । आन्दोलनका कारण तत्कालीन र दीर्घकालीन असर कम गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपाल सुरक्षित रहेको बहुसूचना र जानकारी दिन थप रचनात्मक विधा उपयोग गरिनु पर्छ । अहिले केही चर्चित विदेशी भ्लगर, कन्टेन्ट क्रिएटरका विषयवस्तुमार्फत नेपाल भ्रमण सुरक्षित रहेको सूचना प्रवाहमा मात्र सीमित हुनुहुन्न । त्यसो त पर्यटन बोर्डले पनि थप प्रयास अगाडि बढाएको छ । पर्यटकीय क्षेत्रबाट स्वयम् पर्यटकलाई प्रत्यक्ष प्रसारण गर्न पनि प्रोत्साहन गरिएको छ । हालैको ध्वंसात्मक कार्यका कारण सिजन सुरु हुनै लाग्दा ३७ प्रतिशतसम्म पर्यटन आगमन घट्नु दुःखद हो । पर्यटकका निम्ति असोज, कात्तिक र मध्य मङ्सिरसम्म मुख्य सिजन हो । खुलेको निलो आकाश र चाँदी जस्ता टल्कने हिमाल हेर्न, पदयात्रामा रमाउन र आरोहणका निम्ति पर्यटक आउने मूल सिजनमै भएको बाधा र अवरोधको दुष्प्रभाव न्यूनीकरण गर्दै थप पर्यटन प्रवर्धनका निम्ति रचनात्मक तौरतरिकाले अगाडि बढ्नु वाञ्छनीय छ ।