• ९ असोज २०८२, बिहिबार

जेनजी प्रदर्शन : सप्तरीको सरकारी कार्यालयमा ७५ करोडभन्दा बढीको क्षति

blog

सप्तरी जिल्ला स्थित तोडफोड र आगजनी भएका सरकारी कार्यालय । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), असोज ९ गते ।
जेनजी प्रदर्शनका क्रममा सप्तरीस्थित जिल्लाभरीको सरकारी कार्यालयमा भएको आगजनी र तोडफोडकबाट करोडौंको क्षति भएको छ । जिल्लास्थित चार दर्जन सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीबाट ७५ करोडभन्दा बढीको क्षति भएको हो ।

जिल्लास्थित रहेको सरकारी कार्यालयहरुले दिएको तथ्याङ्क अनुसार तोडफोड र आगजनीबाट कुल ७५ करोड ४५ लाख दुई हजार ८३ रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।

जिल्ला भरका सरकारी कार्यालयका ११३ वटा चारपाँग्रे १११ वटा मोटरसाइकल समेत पूर्णरुपमा नष्ट भएको अहिलेसम्म प्राप्त भएको तथ्याङ्कले देखाएको उहाँले बताउनुभयो ।

प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट सबैभन्दा बढी ३० करोड रुपियाँ मूल्य बराबरको क्षति क्षति राजविराज नगरपालिका कार्यालयमा भएको तथ्याङ्कमा उल्लेख छ ।

सप्तरी सदमुकाम राजविराज स्थित जिल्ला अदालतमा सात करोड ५५ लाख, उच्च अदालत जनकपुर राजविराज इजलाशमा ६ करोड ५० लाख, भौतिक पूर्वाधार विकास कार्यालयमा ६ करोड २५ लाख, संघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयमा दुई करोड ४३ लाख ७५ हजार, शहरी विकास कार्यालयमा दुई करोड १५ लाख, उच्च सरकारी वकिल कार्यालयमा दुई करोड सात लाख आठ सय ४० तथा जिल्ला निर्वाचन कार्यालयमा एक करोड ४७ हजार चार सय ९९ रुपियाँको क्षति भएको हो ।

यस्तै, नापी कार्यालयमा एक करोड ४५ लाख ११ हजार, डिभिजन वन कार्यालयमा एक करोड ७१ लख ८१ ह्जार नौ सय ४०, माटो तथा मल परीक्षण प्रयोगशाला कार्यालयमा एक करोड २१ लख ४९ हजार सात सय २३, बोदेबर्साइन नगरपालिका कार्यालयमा ९० लाख, करदाता सेवा कार्यालय राजविराजमा सात लाख, यातायात व्यवस्था कार्यालयमा ७० लाख, जिल्ला सरकारी वकिल कार्यलयमा ६१ लख २५ हजार, जिल्ला समन्वय समितीमा ५० लाख, खडक नगरपालिका कार्यालयमा ६८ लाख ८३ हजार पाँच सय, सप्तरी कारागार कार्यालयमा ४० लाख र जिल्ला हुलाक कार्यालयमा ३८ लाख ३१ हजार २० रुपियाँ बराबरको सम्पती नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

राजविराज नगरपालिकाको वडा नम्बर ६ कार्यालयमा ४० लाख, ट्राफिक कार्यालयमा १८ लाख, अग्नीसाईर कृष्णासबरण गाउँपलिका कार्यालयमा १७ लाख, राजविराज नगरपालिका वडा नम्बर ४ कार्यालयमा २८ लाख, महदेवा गाउँपालिका  वडा नम्बर ४ कार्यालयमा २५ लाख, बोदेवर्साइन नगरपालिका वडा नम्बर ५ को कार्यालय, हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर १ कार्यालय, बोदेबर्साइन नगरपलिाकाको वडा नम्बर १० कार्यालय र कञ्चनरुप नगरपालिकाको कार्यालयमा १५÷१५ लाख रुपियाँ बराबरको क्षति भएको मूल्याङ्कन गरिएको हो ।

बलान विहुल गाउँपालिकाको कार्यलयमा ११ लाख, इलाका प्रहरी कार्यालय बोदेबसाईनमा १२ लाख, जिल्ला समन्वय तथा सूचना प्रहरी युनिटमा १५ लाख, राजगढ गाउँपालिका कार्यालयमा १० लाख ५३ हजार, विष्णुपुर गाउँपालिका कार्यालयमा १० लाख, भुमि समस्या समाधान आयोग कार्यालयमा नौ लाख ९५ हजार एक सय, इलाका प्रशासन कार्यालय बोदेवसाईनमा १० लाख, सुरुङ्गा नगरपालिका कार्यालयमा नौ लाख र डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० को कार्यालयमा ८ लाख बराबरको क्षति भएको छ ।

बोदेवसाईन नगरपालिकाको वडा नम्बर ९ को कार्यालयमा पाँच लाख, तिरहुत गाउँपालिका कार्यालयमा चार लाख, राजविराज नगरपालिका वडा नम्बर ८ को कार्यालयमा तीन लाख ७३ हजार तथा उच्च अदालत सुरक्षा गार्ड कार्यालयमा तीन लाख ५० हजार बराबरको क्षति भएको हो ।

शम्भुनाथ नगरापालिका कार्यालयमा तीन लाख ९५ हजार, अस्थायी ट्राफिक पोष्ट कदमहामा दुई लाख ५० हजार, राजविराज नगरपालिका वडा नम्बर ३ को कार्यालयमा दुई लाख ५० हजार बोदेबसाईन नगरपालिकाको वडा नम्बर ७ कार्यालयमा दुई लाख , तिलाठी कोइलाडी गाउँपािलिकाको कार्यालयमा एक लाख ४४ हजार, अग्नीसाईर कृष्णासवरण गाउँपालिकामा एक लाख ५० हजार र खडक नगरपालिका वडा नम्बर ७ कार्यालयमा एक लाख १२ हजार मूल्य बराबरको भौतिक सम्पती नष्ट भएको छ ।

यस्तै, बलानविहुल गाउँपालिकाको कार्यालयमा एक लाख ५५ हजार, इलाका प्रहरी कार्यालय कल्याणपुरमा एक लाख, हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालयमा ५० हजार र प्रहरी चौकी मौवाहामा ३५ हजार मूल्य बराबरको क्षति भएको जिल्लास्थित सरकारी कार्यालयहरुले तयार पारेको क्षति विवरणले देखाएको हो ।

भदौ २४ मा भएको तोडफोड र आगजनीले ध्वस्त भएको संरचना पुनर्निर्माण तथा विभिन्न साधान स्रोत जुटाई कतिपय कार्यालयले सेवा सुचारु गरिसकेको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो । उहाँले अत्यावस सेवाहरु जिल्लामा सुचारु भइसकेको र कतिपय कार्यालयले दसैँपछि मात्र सहजरुपमा सेवा प्रदान गर्न सकिने अवस्था रहेको बताउनुभयो ।