• ९ असोज २०८२, बिहिबार

मल्टिप्लेक्ससँग टिकिरहेका दुई ‘सिङ्गल स्क्रिन’

blog

सन्तोष सुवेदी

कास्की, असोज ९ गते । एक समय यस्तो थियो सिङ्गल स्क्रिन हलले एकछत्र राज गरिरहेका थिए । दर्शकहरू फिल्म हेर्न ओइरो लाग्ने गर्थे तर अहिले चलचित्र हल प्रविधिको तीव्र विकाससँगै धेरै सिङ्गल स्क्रिन हल ओरालो लाग्न थाले । 

चलचित्र प्रदर्शनका लागि नयाँ प्रविधिको विकास भएसँगै पुराना हल देख्न मुस्किल हुन थालेको छ । करोडौँ खर्च गरेर सञ्चालनमा ल्याइएका हललाई युट्युब, नेटफ्लिक्स जस्ता प्लाटफर्मले पनि चुनौती थपिरहेका छन् । प्रविधिको बढ्दो चुनौती भए पनि पोखरामा दुई वटा सिङ्गल स्क्रिन हल अहिले पनि सञ्चालनमा छन् । 

पोखरामा अहिले श्रीकृष्ण सिनेमा हल, वाराही ‘क र ख’ मात्र सिङ्गल स्क्रिनहल सञ्चालनमा छन् । अन्य हल बन्द भइसके । यी दुई हल सञ्चालन गर्नुभएका केदार पराजुली व्यापार मध्यम रहेको बताउनुहुन्छ । नयाँ फिल्म प्रदर्शन गरे पनि धेरै दर्शक प्रविधिको मज्जासँगै मल्टिप्लेक्स हल जाने गरेका छन् भने केही मध्यम दर्शक पुरानै हलमा आएर फिल्म हेरेको पाइएको पनि छ । हरेक वर्गविशेष हल आवश्यक छ बन्द गर्नै पर्छ जस्तो लागेको छैन,” उहाँले भन्नुभयो । एक वर्षदेखि दुई हल सञ्चालन गर्दै आउनुभएका पराजुली व्यापार व्यवसायबाट सन्तुष्ट रहेको बताउनुभयो । यी हल करिब दुई हजार सिट क्षमताका रहेका पराजुलीले बताउनुभयो । 

२०४३ सालमा खुलेको विन्ध्यवासिनी हल अहिले छ वर्षदेखि बन्द छ । पछिल्लो क्रममा फिल्मले घाटाको व्यापार गर्न थालेपछि हल बन्द गरेको हल सञ्चालक बताउँछन् । हल सञ्चालक उत्तम द्वावका अनुसार फिल्ममा दर्शकको सङ्ख्या घट्नु र नयाँ फिल्म नआउँदा हल बन्द गर्नु परेको हो । 

“फिल्मको गुणस्तरसँगै दर्शक सङ्ख्या पनि खस्केका कारण हललाई बन्द गराइएको हो । फिल्मको व्यापारले हल सञ्चालन खर्च पनि धान्न सकेन,” उहाँले भन्नुभयो । यो हलले हिन्दीको तुलनामा धेरै नेपाली फिल्मको प्रदर्शन गर्दै आएको थियो । यसअघि पोखरामा फिल्म चल्न छोडेपछि थुप्रै हल पूर्ण रूपमा बन्द भइसकेका छन् । दिपज्योति चलचित्र भवन, अन्नपूर्ण चलचित्र भवन, महालक्ष्मी चलचित्र भवन, पूर्णिमा हल, कल्पना सिनेमा हल चलचित्र चल्न छोडेपछि बन्द भएका चलचित्रघर हुन् ।

पोखरामा मिडटाउन ग्यालरिज र क्युएफेक्स गरी दुई मल्टिप्लेक्स हल पनि सञ्चालनमा छन् । विन्ध्यवासिनी हल बन्दसँगै पोखराको सभागृह चोकमा मिडटाउन सिनेमाघर सञ्चालन गर्नुभएका उत्तम द्वावले सिङ्गल स्क्रिनको अवस्था राम्रो नभएसँगै मल्टिप्लेक्सन हल सञ्चालन गरेको बताउनुभयो । पोखरामा हल सञ्चालन गरेर राम्रै सफलता पाएको द्वा परिवारले मिडटाउन सिनेमा नामक मल्टिप्लेक्स सञ्चालनमा ल्याएको हो ।

“दर्शकको रुचि बदलिँदै जाँदा त्यही अनुसार सुविधा थपेर हल सञ्चालनमा ल्याउनुपर्ने खाँचो रहेको हो । हल सञ्चालन पुरानो व्यवसाय हो, मलाई ठिकै भइराखेको छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार मल्टिप्लेक्स हलहरू टिकटको भाउले खर्च पनि धान्न मुस्किल रहेको छ । पपकर्न, कफीको व्यवसायले धानिने र हलको मात्रै बिजुली, बत्तीसहित मासिक नौ लाख रुपियाँ खर्च उठ्ने गरेको उहाँले जानकारी दिनुभयो ।