• ९ असोज २०८२, बिहिबार

पोतेका प्रकार लोपोन्मुख

blog

हुम्ला, असोज ९ गते  । हुम्लाका लामाबाहेक अन्य समुदायका स्थानीय महिलाले लगाउने पोतेका प्रकार लोपोन्मुख अवस्थामा पुगेका छन् । पछिल्लो युवापुस्ताका युवतीले ती पोते लगाउनै छोडेपछि हाल लोपोन्मुख अवस्थामा पुगेका हुन् । 

हुम्लाका स्थानीय महिलाको आफ्नो मौलिक वेशभूषासँग जोडिएका यी पोतेका विभिन्न प्रकार लोपोन्मुख अवस्थामा पुगेको सिमकोट गाउँपालिका–५ की कलसरा रोकायाले बताउनुभयो । 

सिमकोट गाउँपालिका–२ को ठेहेगाउँकी तुलसा बोहोराले सबै किसिमका पोतेका प्रकार हराउने अवस्थामा रहेको पहिलेको पुस्ताले तयार पारेका ती पोतेका प्रकार घरको कुनै कुना वा बाकलमा थन्किएको बताउनुभयो । पोतेबाट महिलाहरू विशेष गरी विवाहिताले लगाउने स्थानीय भाषामा चुट्की, बेरउटे, पहेँलो पोते, लडी, प्वालो, फुप्पो, कौडा, कपुन्ने माला, पुराना चाँदीका सिक्काका सानो माला, ठुलो माला, कल्ली, चाँदीका बालालगायत एक दर्जन पहिरन सबै बिरलै महिलाले लगाएको देखिनु सामान्य जस्तै भइसकेको उहाँले बताउनुभयो ।