भैरहवा समाचारदाता
भैरहवा, असोज ९ गते । रुपन्देहीको बेलहिया नाकाबाट सन् २०२५ को साढे आठ महिनामा ९४ देशका ५२ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार यस अवधिमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै श्रीलङ्काका छन् । त्यसपछि थाइल्यान्ड, म्यान्मार, दक्षिण कोरिया र भियतनामका पर्यटकको सङ्ख्या उल्लेख्य छ ।
तथ्याङ्क अनुसार जनवरीमा छ हजार ७९३, फेब्रुअरीमा १७ हजार ८७१, मार्चमा २० हजार ७२०, अप्रिलमा तीन हजार ९४१, मेमा एक हजार २७९, जुनमा ६१३, जुलाईमा एक हजार ४०६ र अगस्तमा छ हजार ६११ पर्यटक नेपाल आएका छन् । यस्तै सेप्टेम्बरको दुई सातामा एक हजार ३७० पर्यटक भित्रिएको अध्यागमनका सूचना अधिकारी पुकार श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार जेनजी आन्दोलनकै बेला पनि पर्यटक आउने क्रम जारी थियो । उहाँले भन्नुभयो, “आन्दोलनले खासै असर गरेन । नेपाल शान्त मुलुक हो भन्ने सन्देश अन्तर्राष्ट्रिय स्तरमा प्रवाह गर्न जरुरी छ ।”
सन् २०२४ मा भने यस नाकाबाट १९७ देशका ९२ हजार ६४४ पर्यटक आएका थिए । त्यस वर्ष पनि श्रीलङ्का, थाइल्यान्ड, म्यान्मार, भियतनाम र दक्षिण कोरिया शीर्ष पाँचमा थिए तर यस वर्ष अफगानिस्तान, अल्जेरिया, क्युवा, सुडान, सिरिया, ताजकिस्तानलगायत दुई दर्जनभन्दा बढी मुलुकका पर्यटक शून्य छन् ।
सुनौली–भैरहवा नाका स्थलमार्गबाट नेपाल भित्रिने पर्यटकको मुख्य प्रवेशद्वार मानिन्छ । आगमनको हिसाबले यो नाका काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि मुलुककै दोस्रो ठुलो प्रवेशविन्दु हो । सन् २०१९ मा एक लाख ६१ हजारभन्दा बढी पर्यटक यो नाकाबाट आएका थिए । कोभिडका कारण २०२० र २०२१ मा सङ्ख्या एकदमै घटेको थियो । पछिल्ला वर्षमा भने पुनः वृद्धि हुँदै गएको छ ।
बेलहिया नाकाबाट आउने अधिकांश पर्यटकको पहिलो गन्तव्य लुम्बिनी हो । त्यसपछि पाल्पा, पोखरा, मुक्तिनाथ, काठमाडौँ र सौराहा जाने गरेका छन् तर लुम्बिनीमा बसाइ अवधि छोटो रहने गरेको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार धेरै जसो पर्यटक दुई रातभन्दा बढी बस्दैनन्, करिब १० प्रतिशतले त त्यही दिन फर्किने गर्छन् । यस नाकाबाट भित्रिने भारतीय पर्यटकको सङ्ख्या पनि उच्च छ तर भिसा नलाग्ने भएकाले उनीहरूको तथ्याङ्क अध्यागमन कार्यालयले राख्दैन ।