गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज ९ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले नेपालका लागि चीन र अमेरिकाका राजदूतसँग सोमबार छलफल गर्नुभएको छ । नवनियुक्त मन्त्रीसँग भएको शिष्टाचार भेटमा विदेशी सहायताका परियोजनाको प्रभावकारी कार्यान्वयन तथा सहकार्य विस्तारलगायतमा छलफल भएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।
नेपालका लागि चीनका राजदूत चेन सोङसँग सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङले विभिन्न सडक, प्रसारण लाइनलगायतका आयोजनाको काममा उल्लेख्य प्रगति हुन आवश्यक रहेको बताउनुभएको छ । नेपाल–चीनबिचको सडक तथा विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ निर्माण व्यवसायीबाट ठेक्का लिएका सडक तथा विद्युत् आयोजनाको निर्माण प्रगति, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहायतामा सञ्चालित आयोजनाको कार्यान्वयन अवस्था, चिनियाँ लगानीलगायतका विषयमा छलफल भएको थियो ।
भेटमा मन्त्री घिसिङले नेपाल र चीनलाई सडक सञ्चालबाट जोड्ने काठमाडौँ–कोदारी (अरनिको) र स्याफ्रुबेँसी–रसुवागढी सडक भौगोलिक अवस्थितका कारण जोखिमयुक्त रहेकाले चिनियाँ प्रविधिबाट मर्मत गरी दिगो बनाउन आवश्यक सहयोगका लागि आग्रह गर्नुभएको थियो । उहाँले काठमाडौँ उपत्यका चक्रपथ विस्तार अन्तर्गत चिनियाँ अनुदानमा निर्माण हुने कलङ्की–बसुन्धरा खण्डको काम तत्काल सुरु गर्न पनि राजदूत सोङलाई आग्रह गर्नुभयो । अरुण नदी कोरिडोरमा धेरै जलविद्युत् आयोजना निर्माणाधीन रहेको र नेपालको विद्युत् बजारलाई थप प्रतिस्पर्धी बनाउन किमाथाङ्काबाट अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माण अगाडि बढाउन आग्रह गर्नुभयो ।
चिनियाँ कम्पनीले ठेक्का लिएका कमला–कञ्चनपुर आयोजनाको निर्माण सन्तोषजनक नरहेको, नारायणगढ–बुटवल र मुग्लिङ–पोखरा सडक विस्तारको कामलाई गतिदिन आवश्यक सहयोग र सहजीकरणका लागि पहल गरिदिन राजदूत सोङलाई आग्रह गर्नुभएको थियो । राजदूत सोङले नेपालका प्राथमिकताका क्षेत्रमा सहयोग गने चीन सधैँ तयार रहेको उल्लेख गर्नुभएको थियो ।
नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनसँग ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा अमेरिकी सहयोगमा सञ्चालित आयोजनाको कार्यान्वयन अवस्था, जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक संरचनाको पुनर्निर्माणलगायतका विषयमा छलफल भएको थियो ।
भेटमा मन्त्री घिसिङले अहिलको सरकारको मुख्य प्राथमिकताका रूपमा आन्दोलनका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, आमचुनाव र सुशासन कायम गर्नु रहेको बताउनुभयो । भेटमा राजदूत थम्पसनले अमेरिकाले नेपाललाई गर्दै आएको सहयोग जारी रहने बताएको मन्त्रालयले जनाएको छ ।