• ९ असोज २०८२, बिहिबार

खाद्यको सेवा स्थानीय तहमा पनि

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज ९ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभरका पालिकासँग समझदारी (एमओयु) गरी केही पालिकाबाट कम्पनीका खाद्यवस्तु पालिकामार्फत बिक्री गर्न थालेको छ । कम्पनीले देशभरका उपभोक्ता पालिकामार्फत सहुलियत दरमा खाद्यवस्तु उपलब्ध गराउने उद्देश्यले हालसम्म १०१ पालिकासँग एमओयु गरी तीन वटा पालिकामार्फत सामान बेच्न पनि थालेको छ । 

खाद्य कम्पनीका प्रवक्ता माधव मिश्रले कम्पनीले गत वर्षदेखि नै काठमाडौँको दक्षिणकाली नगरपालिका, भक्तपुरको सूर्यविनायक नगरपालिका, ललितपुरको गोदावरी नगरपालिकाबाट खाद्यान्न बिक्री गर्न थालेको जानकारी दिनुभयो । खाद्य कम्पनीसँग खाद्यका सामान बिक्रीका लागि एमओयु गर्नेमा सातै प्रदेश समावेश भए पनि अधिकांश कर्णाली र सुदूरपश्चिम प्रदेशका पालिका छन् । कम्पनीले एमओयु भएका पालिकामा अर्को वर्षसम्म बिक्री कक्ष राखेर बिक्री सुरु गर्ने तयारी थालिसकेको जनाएको छ । अधिकांश पालिकाले कम्पनीसँगको एमओयु अनुसार भौतिक संरचना निर्माण गर्न सुरु गरिसकेको कम्पनीले जनाएको छ । 

खाद्य कम्पनीका अनुसार खाद्य कम्पनी र ती पालिकासँग भएको एमओयुमा खाद्य बिक्री कक्ष र गोदाम घरको भौतिक संरचना सम्बन्धित पालिकाले निर्माण गर्ने र बिक्री कक्षको आन्तरिक संरचना, कर्मचारी र खाद्यवस्तु कम्पनीले गर्ने व्यवस्था छ । कम्पनीले जुन जुन पालिकासँग एमओयु भएर बिक्री कक्ष स्थापना गरेका छन् ती पालिकाका स्थानीयले आफ्नो घरपरिवारलाई बढी भएको खाद्यवस्तु सोही बिक्री कक्षमा बिक्री गर्न सकिने पनि समझदारी छ । 

यी खाद्यको मूल्य र गुणस्तरका विषयमा कम्पनी र सम्बन्धित पालिकाको साझेदारीमा निर्धारण गरिने सो कम्पनीका प्रवक्ता मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकामातहतमा रहने खाद्य कम्पनीका खाद्यवस्तु बिक्री गर्ने व्यवस्थाले सम्बन्धित पालिकामा मूल्य नियन्त्रण र गुणस्तर कायम गर्न सहयोग त पुग्छ नै त्योबाहेक स्थानीय उत्पादनको बजारीकरणमा पनि धेरै सहयोग हुन्छ । 

प्रवक्ता मिश्रका अनुसार कर्णालीका रैथाने बाली सिमी, कागुनो, चिनो, जुनेलो, फापर काठमाडौँमा ल्याउनलाई जुन पालिकासँग खाद्य कम्पनीले एमओयु गरेर खाद्यवस्तु बिक्री गर्छ । 

कर्णालीका खाद्यान्न युएई 

खाद्य कम्पनीले कर्णालीका चिनो, कागुनो, जुनेला, कोदो र सिमी संयुक्त अरब इमिरेटस (युएई) मा पठाउन थालेको छ । खाद्य कम्पनीले यएईमा रहेको निजी व्यापारी कम्पनीसँग सम्झौता गरेर दुई महिनादेखि ती खाद्य पठाउन थालेको हो । नेपाली रहेका थुप्रै देशबाट कर्णालीका रैथाने बालीको ठुलो परिमाणमा माग आउने गरेको तर ती खाद्यको न्युट्रिसनल प्रोफाइल नहुँदा पठाउन समस्या भएको खाद्य कम्पनीका प्रवक्ता मिश्रले जानकारी दिनुभयो । 

खाद्य कम्पनीले माग भएका देशमा खाद्यान्न पठाउनका लागि न्युट्रिसनल प्रोफाइल बनाउने प्रक्रिया थालेको र केही समय लाग्ने पनि उहाँले जानकारी दिनुभयो । न्युट्रिसनल प्रोफाइल तयार हुनेबित्तिकै युरोप, अमेरिका, जापान, मलेसिया, मध्यपूर्वका  (युएई, कतार, साउदी अरब, कुवेत, बहराइन) लगायतका देशमा पठाउन सकिन्छ ।