गाजा पट्टी, असोज ८ गते । इजरायली सेनाले बुधबार गाजामा घर र शिविरमा आक्रमण गर्दा कम्तीमा १५ प्यालेस्टिनी मारिएको गाजाको नागरिक सुरक्षा प्रवक्ताले बताएका छन् । इजरायलले गाजा सहरमा ठूलो हवाई र भूमि आक्रमण सुरु गरेको छ ।
आक्रमणपछि लाखौँ मानिसलाई सहर छाड्न बाध्य पारेको छ । केही मानिसले केन्द्रमा शरण लिएको बेला हवाई आक्रमणले प्रहार गरेको प्रवक्ता महमुद बासलले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाको गोदाम र फिरास बजार नजिक विस्थापितहरूको त्रिपालमा गरिएको तीन वटा हवाई आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भयो ।
तीमध्ये धेरै बालबालिका थिए । अन्य आक्रमणमा अल-सहाबा स्ट्रिटको अपार्टमेन्टमा दुई र अल-यर्मोक बजार क्षेत्रमा एक जनाको मृत्यु भएको छ । मध्य गाजाको नुसिरातमा हेलिकप्टर आक्रमणले चार जनाको ज्यान लियो भने नजिकैको अर्को घरमा हवाई प्रहारमा एक जनाको मृत्यु भएको नागरिक सुरक्षाले जनाएको छ ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार करिब दुई वर्षयता इजरायली कारबाहीले ६५ हजार तीन सय ८२ प्यालेस्टिनी मारिएका छन् । मारिनेमा अधिकांश सर्वसाधारण छन् । संयुक्त राष्ट्रसङ्घले यसलाई भरपर्दो तथ्याङ्क मानेको छ । आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा एक हजार दुई सय १९ इजरायली मारिएका थिए ।
मिडिया प्रतिबन्ध र पहुँच कठिनाइका कारण एएफपीले यी विवरण स्वतन्त्ररूपमा प्रमाणित गर्न सकेको छैन । यसैबिच, संयुक्त राष्ट्रसङ्घको अनुसन्धानले गाजामा इजरायलको कारबाहीलाई ‘नरसंहार’ भनेपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले त्यसलाई अस्वीकार गर्दै ‘विकृत र झुटो’ ठहर गर्नुभएको छ । गाजाको ठूलो भाग अहिले ध्वस्त भएको छ र संयुक्त राष्ट्रसङ्घ समर्थित निकायले गत महिना यस क्षेत्रको केही भागमा आधिकारिक रूपमा अनिकाल घोषणा गरेको थियो । रासस/एएफपी