नेपाल प्रहरी नेपाली जनताको साथी र सहयोगी हो, शत्रु होइन । हरेक कठिन घडीमा प्रहरीले तनमन लगाएर देश र जनताको सेवा र सहयोग गर्दै आएको छ । ठुला ठुला राजनीतिक आन्दोलनदेखि प्राकृतिक विपत्ति, महामारी, दुर्घटना, अपराध अनुसन्धानमा प्रहरी नै खटिने गरेका छन् । समाजमा चोरी डकैती हुनबाट जोगाई जनताको जिउधनको रक्षा गर्ने जिम्मेवारी पनि प्रहरीले वहन गरेको छ । कामकै सिलसिलामा प्रहरीमाथि शारीरिक तथा मानसिक आक्रमण हुने क्रम रोकिएको छैन । अझ विशेष गरी ठुला ठुला राजनीतिक आन्दोलनमा त सबैभन्दा बढी पीडित प्रहरी नै भएका छन् । यस पटकको जेनजी आन्दोलनमा बढी विवादमा प्रहरी नै परेको छ । शान्तिसुरक्षा कायम गराउने सिलसिलामा प्रहरीले कारबाही सुरु गर्दा भएको घटनालाई आधार बनाई प्रहरीमाथि साङ्घातिक आक्रमण गरी बीभत्स ढङ्गले हत्या गर्ने, हतियार, पोसाक लुट्ने, प्रहरी बिट, प्रहरी चौकी, प्रहरी कार्यालय जलाउने जस्ता अवाञ्छित काम भए । यसले गर्दा प्रहरीको मनोबल कमजोर भएको छ । जेनजीले भदौ २३ र २४ गते गरेको आन्दोलनले हिंसात्मक रूप लिई प्रदर्शनकारीको निसानामा परेर अधिकांश प्रहरी युनिट विस्थापित भए । यसले गर्दा समाजमा झन् असुरक्षा बढ्यो । यो कुरा सबैले मनन गरेका छन् । प्रहरीबिना समाजमा शान्तिसुरक्षा कायम हुन सक्दैन भन्ने महसुस गरेर नै अहिले अधिकांश प्रहरी युनिट सञ्चालनमा आएका छन् । हिंसात्मक प्रदर्शनका क्रममा सहरी क्षेत्रका अधिकांश प्रहरी युनिट तोडफोड र आगजनीबाट ध्वस्त पारी त्यहाँ कार्यरत प्रहरीका हतियार, पोसाक र विभिन्न उपकरण लुटिएपछि अधिकांश प्रहरी युनिट विस्थापित अवस्थामा पुगेका थिए ।
काठमाडौँ उपत्यकामा मात्र २१८ वटा प्रहरी युनिट क्षतिग्रस्त भई विस्थापित भएका थिए । अहिले स्थानीयकै सहयोगमा सबै युनिट सञ्चालनमा आई सेवा प्रवाह सुरु गरिसकेका छन् । आन्दोलनका क्रममा १२२ वटा प्रहरी युनिट पूर्ण रूपमा क्षतिग्रस्त र ९६ वटा आंशिक रूपमा क्षतिग्रस्त बनेको थियो । स्थानीय बासिन्दा, स्वयंसेवक तथा मातहतका प्रहरीले संयुक्त रूपमा सरसफाइ गरी सञ्चालनमा ल्याइएको छ । प्रदर्शनका क्रममा काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्र प्रहरीका ११७ वटा चारपाङ्ग्रे र १५८ वटा दुईपाङ्ग्रे सवारीसाधन जलेर ध्वस्त भएका छन् । थप १२१ वटा चारपाङ्ग्रे सवारीमा तोडफोडबाट क्षति पु¥याइएको छ । शान्तिपूर्ण भनिएको प्रदर्शनमा उत्तेजित समूहले निषेधित क्षेत्र तोडेर आगजनी, तोडफोड गर्न थालेपछि नियन्त्रणका लागि प्रहरीले बाध्य भई कारबाही चलाएपछि हिंसा भड्किएको थियो । त्यही मौका छोपी कमजोर सुरक्षाको फाइदा उठाउँदै देशभरका कारागार तोडफोड र आगजनी गरी अधिकांश कैदी फरार भएका थिए । तिनै कैदी र हिरासतमा रहेका थुनुवाले प्रहरी र प्रहरी कार्यालयमाथि निसाना बनाउँदा तीन जना प्रहरीको मृत्यु भएको थियो । त्यस क्रममा प्रहरी मुख्यालय नक्साल र जिल्ला प्रहरी परिसर काठमाडौँ, ललितपुरबाहेक अधिकांश प्रहरी कार्यालयमा तोडफोड, आगजनी गरी प्रहरीका पोसाक, हतियार र अन्य उपकरण लुटिएका थिए । क्षतिग्रस्त अधिकांश प्रहरी युनिट पुनस्र्थापना गर्न स्थानीय, सङ्घ संस्था, अगुवा र समाजसेवी तथा स्वयंसेवक देशभर जुटिरहेका छन् ।
शान्तिसुरक्षा कार्यमा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्ने कार्य सन् १९१४ देखि सुरु भएको थियो । यसै साल चन्द्रशमशेरले पहिलो पुलिस सवाल जारी गरी वीरगन्जको शान्तिसुरक्षा कायम गर्ने जिम्मा प्रहरीलाई सुम्पेका थिए । उनकै शासनकालमा सन् १९२८ सम्ममा तराईका अन्य जिल्लामा पुलिस गोश्वारा, थाना तथा चौकीहरू स्थापना गर्न विभिन्न सवाल जारी भए । सन् १९१९ को अन्त्यतिर चन्द्रशमशेरले काठमाडौँ उपत्यकाको शान्तिसुरक्षाको व्यवस्था प्रहरीलाई सुम्पिने भनी जिल्ला–पुलिस इन्स्पेक्टर सवाल जारी गरे । यस सवालले काठमाडौँ उपत्यकामा शान्तिसुरक्षाका निमित्त एउटा सदर पुलिस गोश्वारा, छ थाना र १७ चौकी खडा गरी सदर पुलिस गोश्वारा हनुमान ढोकामा स्थापना गरियो भने छ थानामध्ये चार थाना क्षेत्रपाटी, असन, कालभैरव र जैसीदेवलमा तथा बाँकी दुई थानामध्ये ललितपुर र भक्तपुरमा एक एक खडा गरिए । बाँकी चौकी उपत्यकाको सहरी क्षेत्र वरिपरि स्थापना गरिए । २००७ सालको क्रान्तिपछि प्रहरी प्रधान कार्यालय स्थापना भयो । २०१२ सालमा प्रहरी सङ्गठनलाई नेपाल पुलिस फोर्सका रूपमा वैधानिक स्वरूप प्रदान गरियो । यसरी प्रहरीले स्थापनाकालदेखि नै समाजमा शान्ति स्थापना गर्न महìवपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । प्रहरीको मनोबल उच्च हुने वातावरण बनेमा मात्रै समाजमा शान्तिसुरक्षा कायम हुने छ । यसका लागि सबैले हातेमालो गर्नु पर्छ ।