• ७ असोज २०८२, मङ्गलबार

‘सुशासन र स्थिरता कायम गर्न लागौं’

blog

प्रदेशसभा सदस्यहरूको छलफल । तस्बिरः प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, असोज ७ गते । सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले शान्ति, स्थिरता र सुशासनका लागि अझ धेरै काम गर्न जरुरी भएको बताउनुभएको छ ।  

धनगढीमा भएको छलफलमा बोल्दै नेपाली कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पदमबहादुर शाहीले शान्ति, स्थिरता र सुशासन भएमात्र विकास हुने बताउँदै त्यसका लागि समाजका सबै पक्ष लाग्नुपर्ने बताउनुभयो । 

उहाँले सडकबाटै सरकार अपदस्त भएको उल्लेख गर्दै के कारणले यस्तो भयो अनुसन्धान जरुरी छ भन्नुभयो । अहिलेको संविधानमा के समस्या रहेछ त्यसको पनि खोजी गर्नुपर्ने उहाँले बताउनुभयो । 

फरक प्रसङ्गमा बोल्दै नेकपा (एमाले) का संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले सुदूपश्चिममा छाउपडी प्रथा कायम रहेको बताउँदै प्रदेशसहितका विभिन्न सरकारबाट बनेका ऐन, नियमबारे जानकारी गराउन जरुरी भएको चर्चा गर्नुभयो । 

अर्का प्रदेशसभा सदस्य ललिता सुनार मुक्त कमैयाका हातमा लालपूर्जा छ तर मालपोतको स्रेस्तामा भेटिँदैन भन्दै मुक्त कमैया र सुकम्वासीको उचित पुनर्स्थापना हुनुपर्ने बताउनुभयो ।

यूएनडिपीको संसद सहयोग परियोजनाको सहयोगमा संसदीय मामिला पत्रकार समाजद्वारा आयोजित प्रमाणमा आधारित निगरानी तथा सार्वजनिक सुनुवाइ कार्यक्रम अन्तर्गत भएका गतिविधिको समिक्षा कार्यक्रममा कांग्रेसका प्रमुख सचेतक विक्रम धामी, एमालेका चक्र मल्ल, सामाजिक विकास समितिका सभापति धर्मराज पाठक, विशेषाधिकार समितिका सभापति तुलसी देवकोटा, प्रदेशसभा सदस्य दमन भण्डारी, गीतादेवी माल, गीता चौधरी, कैलाश चौधरी, इन्दिरा गिरीलगायतको उपस्थिति थियो ।