• ७ असोज २०८२, मङ्गलबार

फाकुम्बाका पहिरो पीडितलाई राहत

blog

फाकुम्बाका पहिरो पीडितलाई राहत सामग्री।

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज ७ गते। ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको छ। मैवाखोला गाउँपालिका वडा ५ र ६ फाकुम्बाका पहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको हो।

करिब एक साताअघि वर्षासँगै गएको पहिरोका कारण विस्थापित भएका परिवारलाई खाद्यान्नसहित राहत सामग्री वितरण गरिएको हो। गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार मङ्गलबार वडा-५, फाकुम्बाका नौ परिवारलाई राहत सामग्री वितरण गरिएको छ। गाउँपालिका अध्यक्ष वनेम स्वयंको उपस्थितिमा राहत सामग्री वितरण गरिएको हो।

स्थानीय विपद् व्यवस्थापन समितिको तर्फबाट पहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको अध्यक्ष वनेमले जानकारी जानकारी दिनुभयो। गाउँपालिकाका अनुसार प्रतिपरिवार ५० किलोग्राम चामल, तीन किलोग्राम दाल, दुई किलोग्राम नुन वितरण गरिएको छ। त्यस्तै एक लिटर खानेतेल, लुगा धुने साबुन पाँच वटा र नुहाउने साबुन डिटोल तीन वटाका दरले वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

त्यसैगरी सोमबार वडा-६, फाकुम्बा भित्तेटोलका पहिरो पीडितलाई राहत सामग्री वितरण गरिएको छ। वडा ६ का पहिरो पीडित परिवारलाई पनि वडा ५ का पीडित परिवारलाई उपलब्ध गराएजस्तै प्रकृति र परिमाणमा राहत रामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो। दुई जनाको ज्यान जानेगरी गत साताको बुधबार फाकुम्बाको भित्तेमा पहिरो गएको थियो।