• ६ असोज २०८२, सोमबार

सडक बनेपछि गाउँले जीवन सहज

blog

रेसुङ्गा समाचारदाता

रेसुङ्गा (गुल्मी), असोज ६ गते । लामो समय धुलो र हिलोले हिँड्न नसक्ने ग्रामीण सडक कालोपत्रे हुन थालेका छन् । गुल्मीको इस्मा गाउँपालिका–२ स्थित छल्दी–रातडाँडा सडक दुई दशकपछि कालोपत्रे भइरहेको छ । इस्मा, मुसीकोट, मालिका र बागलुङको मध्य पहाडी राजमार्गसमेत जोड्ने सडकमा बर्खा भए हिलो र हिउँदमा धुलोले निकै सास्ती हुने गथ्र्यो । 

यो सडक तीन खण्डमा कालोपत्रेको काम भइरहेको छ । सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर दीपक विकले अहिले रातचौर र रातडाँडा खण्डमा कालोपत्रे गरिएको जानकारी दिनुभयो । करिब डेढ करोड रुपियाँको लागतमा रातचौरमा ४९० मिटर र रातडाँडामा ३७० मिटर कालोपत्रे सडक निर्माणको काम भएको छ । 

इस्मा गाउँपालिका–२, हस्तीचौरका अगुवा राममल्ल ठकुरीले लामो समय सडक कालोपत्रे नहुँदा धुलो र हिलोबाट सास्ती खेपेका स्थानीयलाई अहिले राहत महसुस भएको बताउनुभयो । उहाँले सहायक सडक कालोपत्रे भएपछि यात्रा सहजसँगै किसान, विद्यार्थी, व्यवसायी सबैलाई फाइदा पुगेको बताउनुभयो । पहिलो खण्ड छल्दी–रातचौरको काम भने अझै हुन सकेको छैन । 

सदरमुकामबाट गाउँ जोडिएको बाख्रेछेडा–भाडगाउँ–रातडाँडा सडक स्तरोन्नतिसहित कालोपत्रेको काम भइरहेको छ । यो सडकले रेसुङ्गा नगरपालिका–३ बस्ती छिचोल्दै छल्दी–रातडाँडा सडकसँग जोड्छ । सदरमुकाम तम्घास जोड्ने छल्दी–रातडाँडा सडकको वैकल्पिक सडकका रूपमा बाख्रेछेडा–भाडगाउँ–रातडाँडा सडक हो । सडक पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख सचितानन्द चौधरीले गत वैशाख १० गते योजना सम्झौता भएको बताउनुभयो । चौधरीका अनुसार दुई वर्षभित्र भीमढुङ्गा–रामजाने–जयबाबा जेभीले झन्डै छ किलोमिटर सडक कालोपत्रे गर्ने गरी कुल १७ करोड ६८ लाख ७३ हजार ५७८ रुपियाँमा सम्झौता गरेको छ । 

अहिलेसम्म करिब २० प्रतिशत भौतिक प्रगति भएको छ । सम्झौता अनुसार सडक चौडा गर्र्नेे, ग्याबिन पर्खाल निर्माण र नाली निर्माणको काम भइरहेको छ । इस्मा गाउँपालिकाको छल्दी हुँदै इस्मा मैदान अर्खबाङ सडकको विभिन्न खण्डमा कालोपत्रे भएको छ । मदन भण्डारी राजमार्गसँग जोडिएर इस्मा अमरपुर, मालिकाको अर्जै र घमिरको पहिलो खण्ड कालोपत्रे भएको छ ।

सेउघा–सिमाघाट–बर्बोट–पुर्कोटको अधिकांश भाग कालोपत्रे भएको छ । मदाने गाउँपालिकाभित्रका पनि विभिन्न सडकमा कालोपत्रेको काम थालिएको छ । रेसुङ्गा नगरपालिकाले तीन वर्षमा ६५ किलोमिटर सडक कालोपत्रे भएको जनाएको छ । रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले आफू निर्वाचित भएपछि यो अवधिसम्म विभिन्न वडामा गरेर ६५ किलोमिटर सडक कालोपत्रे भएको दाबी गर्नुभयो । 

गुल्मीदरबारको चारपाल र गौँडाकोट–मजुवाखण्ड, छत्रकोटको पिपलनेटाको भित्री सडक, भेडुवा, हुँगाका विभिन्न खण्डमा कालोपत्रे भएको छ । रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले बलेटक्सार रानीबास, थानपतिसहित भित्री सडकमा समेत कालोपत्रे र स्तरोन्नतिको काम भएको बताउनुभयो । मुसीकोट नगरपालिकाभित्र मुख्य सडकसहित राक्से पौदी, सत्यवती गाउँपालिकामा पनि मुख्य सडकसहित सहायक राजमार्ग, चन्द्रकोट र कालीगण्डकीमा पनि मुख्य सडकसहित केही सहायक सडक कालोपत्रे भएका छन् । सङ्घ, प्रदेश र स्थानीय तहका बजेटबाट कालोपत्रेको काम भइरहेको छ ।