• ६ असोज २०८२, सोमबार

विद्यार्थीको अध्ययनलाई जीवन्त र प्रभावकारी बनाउन विज्ञान प्रदर्शनी

blog

विज्ञान प्रदर्शनी कार्यक्रम । तस्बिर सौजन्य : जनशक्ति माध्यमिक विद्यालय, गैंडाटार

प्रवीण कुमार शर्मा 
चन्द्रपुर (रौतहट), असोज ६ गते ।
रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको जनशक्ति माध्यमिक विद्यालय, गैंडाटारमा पहिलो पटक विज्ञान प्रदर्शनी भएको छ । प्रदर्शनी कार्यक्रममा कक्षा ४ देखि कक्षा १० सम्म अध्ययनरत एक सय ५० जना विद्यार्थीहरूले विज्ञानका विभिन्न प्रयोगात्मक तथा परियोजनात्मक कार्यहरू प्रस्तुत गरेको प्रधानाध्यापक रेणुका जीसीले जानकारी दिनुभयो  ।

विद्यार्थीमा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप, सिर्जनशीलता, नवप्रवर्तन र समूहमा काम गर्ने क्षमता विकास  प्रदर्शनीको मुख्य उद्देश्य  रहेको उहाँले बताउनुभयो  । आफ्नै प्रयास र प्रयोगमार्फत प्राप्त हुने सिकाइ दीगो हुने भएकाले यस्ता खालका कार्यक्रमले विद्यार्थीको अध्ययनलाई जीवन्त र प्रभावकारी बनाउन सहयोग पुर्‍याउने प्रधानाध्यापक  जीसीले बताउनुभयो  ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिमबहादुर भोलनले विद्यालय निरन्तर सबल बन्ने प्रयासमा लागेको बताउनुभयो  । चन्द्रपुर नगरपालिकाका– ३ का अध्यक्ष बोधनाथ देवकोटाले प्रदर्शनीले विद्यार्थीको सिकाइमा दिगो प्रभाव पार्ने भएकाले यसलाई सराहनीय कार्य भन्दै आगामी वर्षमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो  ।

चन्द्रपुर नगरपालिकाका नगर शिक्षा अधिकारी दिपेन्द्र मण्डलले महिला प्रधानाध्यापकको कुशल नेतृत्व र विद्यालय परिवारको समन्वयले विद्यालयमा सकारात्मक परिवर्तन आएको बताउनुभयो  । विज्ञान प्रदर्शनीले विद्यार्थीलाई सिर्जनशील, आत्मनिर्भर र अनुसन्धानमुखी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।