• ६ असोज २०८२, सोमबार

अप्ठ्यारोमा काम लाग्यो कोरला

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ६ गते । नेपालको दोस्रो ठुलो व्यापारिक साझेदार चीनसँग जोड्ने प्रमुख नाकाहरू रसुवा र तातोपानी भन्सार सञ्चालनमा आउन नसकेपछि मुस्ताङस्थित कोरला नाका प्रयोगमा आउन थालेको छ । औपचारिक व्यापारका लागि खासै प्रयोगमा नआएको यो नाका सञ्चालनको लामो समयपछि मात्रै व्यावसायिक प्रयोजनमा आएको हो । 

भन्सार विभागका अनुसार भदौ ३० गतेदेखि पूर्ण सञ्चालनमा आएको कोरला नाका हुँदै पहिलो पटक ठुलो सङ्ख्यामा विद्युतीय गाडी र मालवाहक ढुवानी साधनले जाँचपास गरेका छन् । कोरला नाका हेर्ने मुस्ताङ भन्सार कार्यालयका अनुसार सञ्चालनमा आएको पाँच दिनमा मात्रै उक्त नाकाबाट दुई सय नौ वटा विद्युतीय गाडीले जाँचपास गरेका छन् । 

त्यस्तै एक सय सात वटा मालवाहक ढुवानीले पनि भन्सार पास गरेको कार्यालयले जनाएको छ । मावलवस्तु जाँचपासबापत कार्यालयले ३४ करोड ४७ लाख ४५ हजार रुपियाँ राजस्व सङ्कलन भएको जानकारी दिएको छ । 

गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा बन्द छ । अहिले पनि त्यहाँ निर्माणको काम जारी छ । 

त्यस्तै कोदारी राजमार्गमा आएको पहिरोका कारण तातोपानी भन्सार कार्यालय पनि सञ्चालनमा आउन सकेको छैन । तातोपानी हुँदै चीन जोड्ने दुई वटा सडकमध्ये मुख्य सडक निर्माणको काम अझै बाँकी भएकाले सञ्चालनमा आउन केही समय लाग्ने तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्र चुँडालले जानकारी दिनुभयो ।  

मुख्य दुई भन्सार नाका नै सञ्चालनमा आउन नसक्दा दसैँलक्षित आयात प्रभावित हुने अवस्थामा कोरला नाका व्यावसायिक रूपमा पूर्ण रूपमा सञ्चालनमा आएको हो । अहिले यस नाकामा भन्सारको सम्पूर्ण प्रव्रिmया समेटिएको आसिकुडा प्रणाली सञ्चालनमा आइसकेको भन्सार विभागले जनाएको छ । 

त्यस्तै यस नाका हुँदै सामान आयात गर्न नेपाल राष्ट्र बैङ्कले प्रतीतपत्र (एलसी) खोल्न सहजीकरणसमेत गरिसकेको छ । यससँगै चीनबाट कोरला नाका हुँदै व्यापारीले प्रतीतपत्रमार्फत नै औपचारिक रूपमा व्यापार गर्न सक्ने बाटोसमेत खुलेको छ । “रसुवा र तातोपानी नाका सञ्चालनमा नआएको अवस्थामा कोरला नाका सञ्चालनमा आउनु खुसीको कुरा हो,” नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष गङ्गाबहादुर घिमिरेले भन्नुभयो, “पर्याप्त पूर्वाधार नभएको र बाहै्र महिना चल्न सक्ने अवस्था नरहेकाले यो नाकाबाट धेरै आयात हुने अवस्था भने छैन ।” 

कोरोना महामारीका कारण २०७६ सालदेखि चीन सरकारले आफ्नोतर्फ उक्त नाका पूर्ण रूपमा बन्द गरेको थियो । पछिल्लो पटक २०८० कात्तिकमा यो नाका पुनः सञ्चालनमा आएको थियो । खास गरी यो नाका हुँदै स्थानीयले घरायसी प्रयोजनका सामान आयात गर्दै आएका थिए । प्रतीतपत्र नै खोलेर व्यावसायिक प्रयोजनका लागि नाका यसै हप्ताबाट मात्र सञ्चालन आएको हो । मुख्य नाकाहरू सञ्चालन नहुँदा दसैँका लागि नेपाली व्यापारीले खरिद गरेका विशेष गरी लत्ताकपडा र विद्युतीय सवारी चीनबाट आउन सकेको थिएन । 

नेपालले भारतपछि चीनबाट सबैभन्दा धेरै वस्तु आयात गर्छ । भन्सार विभागका अनुसार गत आव २०८१/८२ मा नेपालले चीनबाट तीन खर्ब ४१ अर्ब रुपियाँका वस्तु आयात गरेको थियो । चीनबाट सबैभन्दा धेरै स्मार्टफोन, विद्युतीय सवारी, लत्ताकपडा र फलफूल आयात भएको तथ्याङ्कले देखाउँछ ।