गजेन्द्र गुरुङ
खजुरा, असोज ६ गते । बाँके र बर्दियाका स्थानीय तहमा लैङ्गिक हिंसा न्यूनीकरण गर्नका लागि नीतिगत व्यस्थापन गर्न थालिएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका, जानकी र डुडुवा गाउँपालिका र बर्दियाको बढैयाताल गाउँपालिकामा महिला तथा बालिका हिंसाविरुद्ध ऐन, कानुन, नीति र कार्यविधी निमार्ण गर्न सुरु गरिएको हो ।
महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले उक्त कानुन बनाउन सुरु गरेको हो । यसैक्रममा आइतबार बर्दियाको बढैयातालमा आयोजित छलफल कार्यक्रमका सहभागीहरुले महिला हिंसाविरुद्धका क्रियाकलाप बढिरहेकाले यसको प्रभावकारी न्यूनीकरणमा जोड दिएका थिए । समुदायमा लैङ्गिक हिंसाविरोधी घटनाहरु बढेपनि सचेतनाको कमी र अभिभावकको दबाबले कानुनी प्रक्रियामा कम घटना आउने गरेको बताइएको छ ।
सहभागीहरुले यसविरुद्ध स्थानीय सरकारले कानुन नै निमार्ण गरी प्रभावकारी कार्यन्वयन गर्नुपर्ने सुझाव दिएका थिए । समुदायमा बालविवाह, घरेलु हिंसा, लागुऔषधको प्रयोग पश्चातको विकृत्ति, दाइजो प्रथा, अनमेल विवाह जस्ता कारणले लैङ्गिक हिंसा बढिरहेको बताइएको थियो ।
कार्यक्रममा बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले स्थानीय तहमा महिला तथा बालिका हिंसाविरुद्धको कानुन निमार्ण गरी प्रभावकारी रुपमा कार्यान्वयन गरिएमा यसको न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले महिला तथा बालिका हिंसाविरोधी क्रियाकलाप सामाजिक अपराध भएको भन्दै यस्तो कार्य कसैले पनि गर्न नहुने कुरामा जोड दिनुभयो ।
पलिकाका उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीले लैङ्गिक हिंसाविरोधी घटनाका बारेमा थाह पाउनेबित्तिकै सरोकारवाला निकायमा पठाउन आग्रह गर्दै पालिकाले यस विषयमा गम्भीर भई नीतिगत व्यवस्थापनमा जोड दिएको बताउनुभयो ।
छलफलमा वडा अध्यक्षहरु राधेश्याम थारु, कार्यपालिका सदस्य चन्द्रकला विक, प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारु, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुजिता थारु लगायतले बोल्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष कृष्णमुरारीप्रसाद भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष अधिवक्ता विश्वजीत तिवारीले सहजीकरण गर्नुभएको थियो । महिला तथा बालिका हिंसाविरुद्ध नीतिगत सुधार तथा सचेतना कार्यक्रमअन्र्तगत संस्थाले बाँके र बर्दियाका चार वटा स्थानीय तहमा महिला तथा बालिका हिंसाविरुद्ध ऐन, कानुन, नीति तथा कार्यविधि निमार्ण गर्ने संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले जानकारी दिनुभयो ।