• ६ असोज २०८२, सोमबार

तुलसीपुर उपमहानगरपालिका दमकलविहीन

blog

जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको दमकल । तस्बिर : लीलाधर वली

लीलाधर वली  
घोराही, असोज ६ गते ।
विपद् व्यवस्थापनका लागि अत्यावश्यक दमकल जलेर ध्वत भएपछि तुलसीपुर उपमहानगरपालिका दमकलविहीन भएको छ । जेनजीको आन्दोलनका क्रममा प्रदर्शनकारीले दमकलमा आगो लगाएपछि तुलसीपुर उपमहानगरपालिकालगायत अन्य तीन पालिका पनि दमकलविहीन बन्न पुगेका हुन् ।

तुलसीपुर उपमहानगरपालिकाको दमकल नै पश्चिम दाङका शान्तिनगर, बबई र दंगीशरण गाउँपालिकाका लागि पनि प्रयोग हुँदै आएको थियो । आगलागीबाट त्यो एउटा दमकल जलेपछि अब कहीकतै आगलागी भयो भने दमकलको उपलब्धता कसरी हुने भन्ने चिन्ता थपिएको छ । केही वर्ष पहिले उपमहानगरपालिकाले खरिद गरेको तीन हजार लिटर क्षमताको उक्त दमकल जेनजी आन्दोलनका क्रममा काम नलाग्ने गरी ध्वस्त भएको छ ।  

त्यससँगै वैकल्पिक रूपमा जेटपम्प जोडेर पानी फाल्ने बनाएको ट्यक्टर पनि जेनजीकै आन्दोलनका क्रममा जलेर ध्वस्त हुँदा थप समस्या उत्पन्न भएको छ । पालिकाका भवन तथा अन्य सवारी साधन जलाउँदा दमकल पनि प्रदर्शनका क्रममा जलाइएको थियो । विपद् व्यवस्थापन शाखाका प्रमुख टोपबहादुर डाँगीले पालिकामा भएको एउटा दमकल पहिले नै बिग्रिको र नयाँ दमकल पनि आगजनीका कारण जलेर ध्वस्त भएको बताउनुभयो ।

उहाँका अनुसार तुलसीपुरमा अन्य अन्य विपद् व्यवस्थापनका सामग्री पनि सबै जलेको भन्दै भन्नुभयो, ‘‘दमकलसहित अन्य विपद्का लागि आवश्यक सामग्री सबै जलेका छन् । भर्खरै प्रहरीलाई आवश्यक पर्ने सामग्री खरिद भएका थिए, वितरण गर्ने तयारी थियो तर जेनजी आन्दोलनका क्रममा सबै जलेर खरानी भएका छन् ।’’

दाङलगायत छिमेकी जिल्लामा समेत विपद्का समयमा सहयोग गर्न जाने दमकल जलेपछि अब कसरी यसको व्यवस्थापन गर्ने भन्ने समस्या भएको छ । विपद् व्यवस्थापन शाखा प्रमुख डाँगीले ट्याक्टरमा जडान गरिएको जेटपम्फ मर्मत गरेर विकल्प खोज्न सकिन्छ की भन्नेमा आफूहरू लागेको बताउनुभयो । दमकलको इन्जिन सबै जलेकाले मर्मत गरेर हुन्छ कि हुँदैन केही भन्न नसक्ने अवस्था रहेको बताउनुभयो । 

दमकल खरिद गर्न तत्काल करिब ७५/८० लाख रुपियाँ आवश्यक पर्ने भएकाले विपदका लागि आवश्यक दमकलको व्यवस्थान गर्न कठिन भएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार पालिकाका दमकलसहित विपदका लागि विभिन्न संघसंस्थाबाट प्राप्त करोडौँका सामग्री जलेका छन् । जेनजी आन्दोलनका क्रममा तुलसीपुर उपमहानगरपालिकामा दुई वटा भवनसँगै पाँच वटा सवारीसाधनमा समेत आगजनी गरिएको थियो ।