गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज ५ गते । जेनजी आन्दोलनका कारण बन्द भएका चलचित्र हल पुनः सञ्चालनमा आएका छन् । हल खुलेसँगै अन्योलमा रहेका चलचित्रको प्रदर्शन मिति पनि धमाधम तोकिन थालेका छन् । गत शुक्रबारबाट चलचित्र हलमा बलिउड, हलिउड र नेपाली चलचित्र पुनः प्रदर्शनमा आएका छन् । हल खुलेसँगै नेपाली चलचित्र ‘रिमै’, ‘गुन्युचोलो’, ‘मोहर’, ‘कोसेढुङ्गा’, बलिउड चलचित्र ‘जोली एलएलबी–३’, हलिउड चलचित्र ‘दी कन्जुरिङ’ र जापानिज चलचित्र ‘डेमन स्लेयर’ प्रदर्शन सुचारु भएको छ ।
भदौ २० देखि हलमा चलचित्र ‘रिमै’ प्रदर्शनमा आएको हो । अभिनेता दयाहाङ राई र अभिनेतृ रिश्मा गुरुङको मुख्य भूमिका रहेको चलचित्र प्रेमकथासहित गुरुङ समुदायको संस्कार र संस्कृतिमा आधारित छ । खिलबहादुर गुरुङ निर्देशित चलचित्रमा दयाहाङ र रिश्मासँगै गौमाया गुरुङ, अर्पण थापा, बुद्धि तामाङलगायको अभिनय रहेको छ ।
चलचित्र ‘कोसेढुङ्गा’ भदौ १२ देखि हलमा प्रदर्शनरत छ । वैदेशिक रोजगारी र प्रेमकथामा आधारित चलचित्रलाई सरोज पौडेलले निर्देशन गर्नुभएको छ । चलचित्रमा सुरक्षा पन्त, मञ्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, दिनेश काफ्ले, विशाल पहारीलगायत कलाकारको अभिनय रहेको छ ।
समुद्र भट्ट निर्देशित चलचित्र ‘गुन्युचोलो : दी ड्रेस’ लैङ्गिक अल्पसङ्ख्यक पारालैङ्गिक पात्रको कथामा आधारित छ । चलचित्रमा नाजिर हुसेन मुख्य भूमिकामा देखिनुभएको छ । उहाँले पारालैङ्गिक महिला भूमिका निर्वाह गर्नुभएको छ । नाजिरसँगै चलचित्रमा सञ्चिता लुइटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको पनि अभिनय रहेको छ । चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले आवाज दिनुभएको छ । चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोडक्सन हाउसको संयुक्त सहकार्यमा बनेको हो । आलोक शुक्लाले खिच्नुभएको चलचित्रमा लेखु सहयात्रीको गीत रचना रहेको छ ।
गत साउन २३ देखि प्रदर्शनरत चलचित्र ‘मोहर’ ले देउकी प्रथाको कथा प्रस्तुत गरेको छ । चलचित्रका लेखक तथा निर्देशक ओम प्रतीक हुनुहुन्छ । चलचित्रमा बेनिशा हमाल, नीति शाह, पल शाह, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय रहेको छ । बलिउड चलचित्र ‘जोली एलएलबी ३’ असोज २ देखि नेपाली हलमा प्रदर्शनरत छ । हास्य विधामा आधारित चलचित्रलाई सुवास कपुरले निर्देशन गर्नुभएको छ । चलचित्रमा अक्षय कुमार, अरशद वारसी, हुमा कुरेशीलगायत कलाकारको अभिनय रहेको छ ।
यस्तै अर्को बलिउड तर साउथ इन्डियन चलचित्र ‘मिराइ’ एक्सन र थ्रिलरको सम्मिश्राण बनेको छ । कार्तिक गट्ट मनेनी र अनिल आनन्द निर्देशित चलचित्रमा तेजा सज्जा, मनोजकुमार मन्चु, श्रीया सरनलगायत कलाकारको अभिनय रहेको छ । हलिउड फिल्म ‘दी कन्जुरिङ ः लास्ट राइट्स’ भदौ २० देखि नै प्रदर्शन भइरहेको छ । थ्रिलर र हरर विधामा बनेको चलचित्रका निर्देशक माइकल चाभेस हुनुहुन्छ । चलचित्रमा भेरा फार्मिगा, प्याट्रिक विल्सन म्याडिसन ललरलगायत कलाकारको अभिनय रहेको छ ।
यस्तै जापानिज चलचित्र ‘डेमन स्लेयर’ अहिले नेपालमा धेरै रुचाइएको चलिरहेको छ । एडभेन्चर विधामा बनेको चलचित्रमा नात्सुकी हाने, सायोरी हायामी, अकारी किटोलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाई हारुओ सोटोजाकीले निर्देशन गर्नुभएको छ ।