भैरहवा समाचारदाता
भैरहवा, असोज ५ गते । जेनजीको आन्दोलनले राजनीतिक नेताहरूको घर र सम्पत्तिमा व्यापक क्षति पुगेपछि नेताहरू घरबारविहीन बन्न पुगेका छन् । घरमा आगजनी भएपछि विभिन्न राजनीतिक दलका नेताहरू आफन्तकोमा आश्रय लिएर बसेका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीको हटारिमा स्थित घरमा आन्दोलनकारीले आगजनी गरेपछि उहाँकी श्रीमती दीपा आचार्य दाङस्थित मुख्यमन्त्री निवासमा बस्न बाध्य हुनुभएको छ ।
पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको दाङको डुम्रीगाउँस्थित घरमा आगजनी भएको छ । वृद्ध आमालाई उपचारका लागि काठमाडौँ लगिएको छ भने चौधरी परिवार आफन्तकहाँ शरण लिएर बस्न बाध्य भएका छन् ।
कपिलवस्तुको भडसामा रहेको कांग्रेस नेता दीपकुमार उपाध्यायको पुख्र्यौली घर, माओवादी नेता चक्रपाणि खनाल, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, पूर्वमन्त्री बलराम अधिकारी र कांग्रेस नेता सुरेन्द्र आचार्यका घरमा पनि तोडफोड तथा आगजनी भएको छ । केही घर मर्मतपछि पुनः बस्न मिल्ने अवस्थामा पुगेका छन् भने अधिकांश नेता अझै आफन्तकहाँ आश्रित छन् ।
दाङ, नवलपरासी र बाँके जिल्लामा पनि आन्दोलनकारीले कांग्रेस, एमाले, माओवादी, राप्रपालगायत दलका नेताका घर तथा पार्टी कार्यालयमा क्षति पु¥याएका छन् । पूर्वगृहमन्त्री बालकृष्ण खाँणदेखि बर्दियास्थित सङ्घीय सांसद सञ्जय गौतमसम्मका घर आन्दोलनको निशानामा परेका छन् । दाङका कांग्रेस नेता गेहेन्द्र गिरी, पूर्वनगरप्रमुख नरूलाल चौधरी, पूर्वसांसद कोमल वली, नेता हिराचन्द्र केसीका घरमा क्षति पुगेको छ ।